पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी मात्रै भएको टिप्पणी गरेका छन् ।
आइतबारबाट सुरु भएको प्रि–बजेट छलफलमा भाग लिँदै भट्टराईले बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले आफैँमाथि न्याय गर्न नसकेको बताएका हुन् । उनले बजेटका सिद्धान्त र प्राथमिकता तय गर्ने क्रममा अर्थमन्त्रीले अल्छी गरेको आफूलाई लागेको बताए ।
उनले बजेटका प्राथमिकता र सिद्धान्त लेख्ने बेला समयको अभाव वा इच्छाशक्तिको अभावले हो अर्ध निन्द्रामा भएको मान्छेले हाइ काढ्दै निबन्ध लेखेको जस्तो भएको बताए । अर्धनिद्रामा भएको मान्छेले लेखे जस्तो देखिएको भन्दै उनले बजेटका सिद्धान्त र प्राथमिकतामा वैचारिक अलमल र अस्पष्टता रहेको बताए ।
उनले भने, ‘अर्धनिद्रामा भएको मान्छेले हाइ काड्दै अल्छि लागिलागिकन निबन्ध लेखेजस्तो कर्मकाण्डी प्रकारको दस्तावेज आयो।’ भट्टराईले बिरालो बाँधेर श्राद्ध गरे जस्तो गरी सरकारले बजेटका प्राथमिकता र सिद्धान्त निर्धारण गरेको बताए ।