कांग्रेस सांसद एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पूर्ववर्ती शेरबहादुर देउवा सरकारले गरेको ६५ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने प्रस्ताव कार्यान्वयन गर्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा आफ्नो धारणा राख्दै कार्कीले वृद्ध भत्ताको उमेर ६५ वर्षमा झार्न संसदमा प्रस्ताव गरेका हुन् ।
सरकारले संसदमा पेश गरेको बजेटका सिद्धान्तले मुलुकका आर्थिक चुनौतीलाई सम्बोधन गर्नुको सट्टा प्रशंसा मात्र गरेको उनले आरोप लगाए ।
आर्थिक वर्षको अन्त्यसम्ममा बजेट घाटा बढेर १४ खर्ब ३० अर्ब पुग्ने अनुमान गरिएको भन्दै उनले मुलुकको ढुकुटीको चावी बोकेका अर्थमन्त्रीले राजनीतिक पूर्वाग्रहबाट माथि उठ्न जरुरी रहेको बताए ।
उनले अर्थमन्त्री खतिवडाले विदेश जाँदा नेपालको इतिहासमा लगातार तेस्रो वर्ष ७ प्रतिशत आर्थिक विकास गर्न सफल भएको भन्ने अभिव्यक्ति दिएको तर २०७४ सालमा स्वेत पत्र जारी गरेर देशको अर्थतन्त्र टाट पल्टिएको घोषणा गर्नु गलत भएको धारणा राखेका थिए।
उनले राजनीतिक पूर्वाग्रह देखाएर मुलुकमा मिथ्यांकका रूपमा प्रस्तुत गर्ने र विदेशमा सोही कुरालाई प्रगतिको रूपमा लेख्ने गर्नु ठीक नभएको धारणा राखे।
सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी बजेट तर्जुमा गर्ने, कृषि उत्पादनमा वृद्धि, आयात निरुत्साहीत र निर्यात वृद्धि, व्यापार घाटा कम गर्ने तथा राजश्व प्रणालीलाई लगानी मैत्री बनाउने भनिएपछि प्राथमिकतामा नपरेको भन्दै यसबारे स्पष्ट योजना आउनुपर्नेमा कार्कीले जोड दिए।