प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ’मिडिया काउन्सिल विधेयक’ ल्याएर कू गर्न खोजेको बताएको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा सभापति शेरबहादुर देउवाले स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिएका हुन् ।
उनले मिडिया प्रजातन्त्रका लागि नभइ नहुने कुरा भएको बताए । उनले सरकार अधिनाकयकवादी बाटोमा हिड्न खोजेको आरोप लगाए । त्यस्तै ’जय नेपाल’ शब्दको अपव्याख्याबारे सोधिएको प्रश्नमा सभापति देउवाले नेपालको जय नभनेर के इण्डिया अथवा चीनको जय भन्ने भन्दै प्रतिप्रश्न गरेका थिए ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अधिनायकवादको बाटो हिंडेर सरकारले आफूलाई लोकतान्त्रिक सिद्धान्त र संस्कारको दाबी गर्न नमिल्ने बताए ।
समाचार लेख्ने क्रममा पत्रकारबाट त्रुटी हुँदा हाल प्रेस काउन्सिलले विधि प्रक्रिया र आचारसंहिताको हेक्का गराउँदै आएको भन्दै कांग्रेसले नयाँ विधेयकमा सोझै जरिवाना तय गर्नु न्यायोचित र काउन्सिलको विश्वब्यापी स्थापित परम्परा विपरीत भएको दावी गरेको छ ।