वसन्त ऋतुको यस याममा सगरमाथाको आरोहण शुरु भएको छ ।
आठ शेर्पा आरोहीले मंगलबार दिउँसो पौने दुई बजे सगरमाथाको चुचुरोमा डोरी टाँगेसँगै सगरमाथा आरोहणको ढोका खुलेको हो । गतवर्ष पनि वैशाख ३१ गतेदेखि सगरमाथा आरोहण शुरु भएको थियो । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले मंगलबारदेखि आरोहण शुरु भएको जानकारी दिए ।
संखुवासभाका सिद्धिबहादुर तामाङ नेतृत्वको शेर्पा समूहले डोरी टाँग्ने काम गरेको थियो । उक्त समूहमा सोलुखुम्बुका पासदावा शेर्पा, सोलुखुम्बुका दोजी ग्याल्जेन शेर्पा र दावा नोर्बु शेर्पा तथा सङ्खुवासभाका क्रमशः मिङ दोर्जी शेर्पा, आङ फुर्वा शेर्पा र साङ्बु भोटे लामा छन् । उनीहरु ‘हिमालयन गाइड्स नेपाल, ट्रेक एन्ड एक्सिपिडिसन प्रालि र मेडिसन माउण्टेनरिङ एभरेष्ट एक्सिपिडिसनबाट गएको सगरमाथाको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।
सगरमाथा आरोहणका लागि डोरी टाँग्ने काम एक्सिपिडिसन अपरेटर्स एशोसिएशनले गर्दै आएको छ । सगरमाथाको शिविर २ सम्मको बाटो बनाउने जिम्मा सगरमाथा प्रदूषण नियन्त्रण समिति पाएको थियो । विभागका अनुसार सगरमाथा आरोहणका लागि ४१ आरोही समूहका ३ सय ७८ आरोही गन्तव्यतर्फ गएका छन् । यसमा ३५ विदेशी र छ नेपाली आरोही समूह छन् ।