राष्ट्रिय जनता पार्टी, नेपालले महाधिवेशन पछि एकमात्र अध्यक्ष रहने व्यवस्था गरेको छ ।
हाल अध्यक्ष मण्डलबाट संचालनमा रहेको पार्टी महाधिवेशनपछि भने एकमात्र अध्यक्ष प्रणालीमा सञ्चालन हुने भएको हो । जेठ २ गतेदेखि बसेको पार्टीको अध्यक्ष मण्डलको बैठकले पार्टीको विधान संशोधन गर्दै अध्यक्ष प्रणालीमा जाने व्यवस्था गरेको पार्टीका महासचिव केशव झाले जानकारी दिए ।
राजपाको विधानको धारा ३१ मा यसअघि महधिवेशन पछि पनि अध्यक्ष मण्डलको व्यवस्था रहेकोमा उक्त व्यवस्था संशोधन गरेर महाधिवेशन पछि अध्यक्ष मण्डल नरहने र पार्टी अध्यक्ष प्रणालीमा सञ्चालन हुने लेखिएको छ ।
यसअघि कुनै पनि तल्लो तहमा निर्वाचित सदस्य, पदाधिकारीहरूलाई माथिल्लो तहमा उम्मेदवारी दिँदा आफ्नो तल्लो तहको पदबाट राजीनामा दिनुपर्ने व्यवस्था नरहेकोमा अब त्यस्तो अवस्थामा राजीनामा अनिवार्य गरिएको छ ।
त्यसैगरी, पार्टीको कुनै पनि तह वा स्तरमा समितिहरू बनाउँदा राजपा नेपालमा एकीकृत ६ वटै दलको सम्बन्धित स्तरका कार्य समितिमा अपसी सहमतिको आधारमा मात्रै गठन गर्ने प्रावधान रहेकोमा यो उपधारा हटाइएको राजपाले जनाएको छ ।
राजपाको नयाँ निर्णयअनुसार यसअघि पार्टीको महाधिवेशन दुई वर्षभित्र गरिनेछ भनिएकोमा अहिले समयावधि बढाएर तीन वर्षभित्र गरिने भनिएको छ । चक्रीय प्रणालीअनुसार सोमबारदेखि पार्टीको अध्यक्ष मण्डलको संयोजक अनिल कुमार झा हुने बैठकले निर्णय गरेको छ ।