अमेरिकाको टेक्सासकी एक जना शिक्षिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दे अवैध आप्रवासी विद्यार्थीलाई हटाउनुपर्ने माग गरेपछि विद्यालयले उनलाई बर्खास्त गरेको छ ।
फोर्ट अर्थ विद्यालयका अंग्रेजी शिक्षिका जर्जिया क्लार्कले गएको १७ मे का दिन मेक्सिकोबाट आएका अवैध विद्यार्थीको बारेमा टिप्पणी गरेकी थिइन् ।
उनले विद्यालयका अधिकारीहरुलाई दिएको बयानमा ट्विटलाई आफूले सार्वजनिक कुरा नठानेर त्यस्तो लेखेको बताएकी थिइन् । क्लार्कलाई गएको मंगलबार बर्खास्त गरिएको हो । उक्त निर्णयको बारेमा उनले १५ दिन भित्रमा पुनरावेदन गर्न सक्नेछन् ।
उनले ट्विटमा मेक्सिकोबाट आएका अवैध विद्यार्थीहरुको चाप बढेको र उनीहरुलाई अनुसन्धान गरि विद्यालयबाट हटाउनुपर्ने जनाउँदै फोर्ट वर्थबाट ती विद्यार्थी हटाउन यहाँले केही गर्न सक्नुहुन्छ भने त्यो सह्राहनीय हुनेछ भनेर लेखेकी थिइन् ।
त्यसले गर्दा उनी सामाजिक सञ्जालमा चर्को आलोचनामा परिन् । अहिले भने उनले सो ट्विट हटाइसकेकी छन् । बीबीसी