दक्षिणी चीनमा मुसलधारे पानी पर्दा कम्तीमा पाँच जनाको ज्यान गएको छ भने हजारौँ मानिस फसेका अधिकारीहरूले बताएका छन् । वर्षाले सयौँ घरमा क्षति पुर्याउनुका साथै हजारौँ हेक्टर जमिनमा लगाइएका बालीनाली सखाप पारेको छ ।
अझै केही दिनसम्म पानी पर्ने क्रम जारी रहने अनुमान गरिएको छ । सरकारी सञ्चारमाध्यमका अनुसार वर्षाका कारण २० लाख मानिस प्रभावित भएका छन् भने सडक तथा पुलमा नराम्ररी क्षति पुगेको छ । ग्वाजो प्रान्तको एउटा शहर नै दुई मिटर पानीमा डुबेको छ ।
मौसम पूर्वानुमानसम्बन्धी चिनियाँ निकायका अनुसार दक्षिणी प्रान्त जियाङ्ग्सी र हुनानमा जुन महिनायताकै सबैभन्दा बढी वर्षा भएको छ । नौवटा शहरमा बाढी पसेपछि जियाङ्ग्सी प्रान्तमा मात्रै डेढ लाख मानिसलाई अन्यत्र सारिएको छ ।
चाइना डेली पत्रिकाका अनुसार दक्षिण पश्चिमी ग्वाङ्ग्सी प्रान्तमा २० हजारभन्दा बढी घरमा बिजुली आपूर्ति बन्द भएको छ । मौसम पूर्वानुमान निकायका अधिकारीहरूका अनुसार बिहीवारसम्ममा ग्वाङ्ग्डुङ, सुच्वान र ताइवानमा वर्षा फैलिनेछ ।
वर्षाका कारण हुने सम्भावित पहिरोबाट सजग रहन पनि अधिकारीहरूले आग्रह गरेका छन् । विगतमा मुसलधारे वर्षाका कारण दक्षिणी चीनमा पहिरोहरू गएका दृष्टान्त छन्।