इटहरी उपमहानगरको वजार अनुगमन टोलीले ४० काटुन आँप नियन्त्रणमा लिएको छ ।
इटहरी उपमहानगरपालिकाले बजार अनुगमन गर्दा आइतबारेमा सञ्चालित रामनारायण फ्रुट सेन्टरमा विषादि प्रयोग गरेर पकाएको आँप भेटिए पछि नियन्त्रणमा लिइएको हो । अनुगमन गर्दा आँप प्याक गरिएको कार्टुनमा सेतो कागजमा सानो पोको भेटिएको हो ।
पोको खोलेर हेर्दा सेतो धुलो भेटिएपछि कारवाईड भएको पत्ता लागेको हो । कार्वाइड नेपालमा प्रतिबन्धित छ । कारवाईड प्रयोग गरेर पकाएको आँपको ४० कार्टुन उठाएर उपमहानगरमा ल्याइएको छ ।
उपमहानगरमा ल्याएर अनुगमन टोली, उपभोक्ता मञ्च, र संचारकर्मीको रोहबरमा मुचुल्का उठाइएको छ । विषादीयुक्त आँपलाई नष्ट गरिने उपमहानगरले निर्णय गरेको छ । खाद्य विज्ञ केपी लम्सालका अनुसार कारवाईड प्रयोग गरिएको आँप खाँदा पाचन प्रणालीमा असर पर्ने हुन्छ ।
कारवाईड हालेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक भएकाले सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् । कारवाइड प्रयोग गरिएको आँप खाँदा छालाको रोग, पेट दुख्ने, वान्ता हुनेलगायतका शारीरिक समस्या उत्पन्न हुनुकासाथै गम्भिर प्रकारको क्यान्सरसमेत हुनसक्ने चिकित्सकहरुले चेतावनी दिएका छन् ।
नेपालमा प्रतिबन्धित कारवाईड प्रयोग गरेर पकाईएको आँप इटहरीमा खुलेआम बिक्री भइरहेको पाइएपछि उपमहानगरले बजार अनुगमन गरेको उपभोक्ता हित संरक्षण शाखा अधिकृत प्रकृति चौलागाइले बताए ।
कारवाईड प्रयोग गरेर पकाइएको आँप हेर्दा पहेलो, लोभलाग्दो र आकर्षक देखिने भएपनि मानव स्वास्थ्यका लागि हानिकारक हुने अनुगमनमा सहभागि उपभोक्ता हित मंचका प्रतिनिधि डिल्ली दाहालले बताए ।