सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले काठमाडौंमा आइफा अवार्ड कार्यक्रममा नेपालले नाफाको व्यापार गर्ने बताएका छन् ।
मंगलबार संसदको विकास तथा प्रविधि समितिमा विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५ को छलफलमा मन्त्री बाँस्कोटाले सरकारले घाटाको व्यापार नगर्ने बताएका हुन् । उनले भने, ‘म एउटा कुरा स्पष्ट पार्न चाहन्छु। नेपाल सरकारले घाटाको व्यापार गर्दैन, नाफाको व्यापार गर्ने हो।’
मन्त्री बास्कोटाले आइफा अवार्ड कार्यक्रम अन्तर्राष्ट्रिय स्तरको भएकाले यसबाट विश्वका सयभन्दा धेरै देशमा मुलुकको प्रचार हुने र त्यसबाट अर्बौं रुपैया नाफा गर्न सकिने दाबी गरे ।
उनले यसअघि श्रीलंकमा भएको आइवा अवार्डमा श्रीलंकाले झन्डै २ अर्ब नाफा गरेको उदाहरण प्रस्तुत दिए ।
‘श्रीलंकमा भएको बेलामा त्यहाँका मेनस्ट्रिम मिडियाले लेखेको खोजेर हेरेँ,’ मन्त्री बास्कोटाले भने, ‘त्यहाँ १.१ बिलियन सरकारी लगानी भएको, ४.१ बिलियन आम्दानी र सरकारलाई झन्डै २ बिलियन नाफा भएको रहेछ।’
काठमाडौंमा आइफा अवार्ड कार्यक्रम हुने निश्चित भए पनि सरकारले त्यसका लागि बजेट भने नदिने बताए ।