राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्तको हत्या प्रकरणका बारेमा सरकारलाई गरेको चार बुँदै सिफारिश र २४ बुँदे निर्देशन कार्यान्वन भए नभएको बारे तत्काल जानकारी गराउन भन्दै सरकारलाई पत्र लेखेको छ ।
आयोगका निमित्त सचिव मुरारीप्रसाद खरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेख्दै आयोगले आफूले दिएको निर्देशनको कार्यान्वयनको अवस्थाबारे जानकारी माग गरेका हुन् ।
घटनाको सम्बन्धमा प्रहरीद्वारा गरिएको अनुसन्धानको प्रभावकारिताबारे आयोगले गत माघ १३ गते सरकारलाई ४ बुँदे निर्देशन र २४ बुँदे सिफारिस दिएको थियो ।
उक्त सिफारिस कार्यान्वयन गरी तीन महिनाभित्र त्यसको जानकारी पठाउन निर्देशन दिइएको भए पनि अहिलेसम्म कुनै जानकारी नआएको आयोगको पत्रमा उल्लेख छ। जतिसक्दो छिटो जानकारी पठाउन आयोगले अनुरोध गरेको छ ।