गण्डकी प्रदेशसभाले प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य, अधिकार एवं कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।
प्रदेशसभाको शुक्रबारको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ततु गरेको प्रस्तावलाई सभाले पारित गरेको हो ।
यसअघि उक्त विधेयकमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यले सरकार सञ्चालनमा आवश्यक पर्ने जनशक्ति आफैंले छनोट गर्ने गरी प्रदेशमा आयोग गठन हुनु आफैमा महत्वपूर्ण हुने बताए ।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानूनमन्त्री चुमानले प्रदेश लोकसेवा आयोगले केन्द्रमा लोकसेवा आयोगले हासिल गरेको विश्वासलाई प्रदेशमा पनि कायम गरिने विश्वास व्यक्त गरे ।
बैठकले पारिश्रमिक र सुविधा सम्बन्धी केही प्रदेश कानूनलाई व्यवस्था गर्न बनेको विधेयक विधायन समितिमा पठाएको छ ।
यसअघि विधेयक माथिको सामान्य छलफलमा प्रदेशसभा सदस्यहरूले सुविधा थप हुँदै जाँदा जनताका अपेक्षा पूरा भए वा भएनन् त्यसतर्फ गम्भीर बन्नुपर्ने बताए।