नेपाली कांग्रेसले पार्टी सङ्गठनको स्थानीय संरचनालाई रूपान्तरण गरी सङ्घीय व्यवस्था बमोजिम विधानको धारा ७२ मा उल्लेखित पार्टीको अन्तरिम संरचना गठन गर्ने भएको छ ।
पार्टीको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले त्यसका लागि आवश्यक निर्देशिका केन्द्रीय समितिको बैठकमा पेश गरी पारित गर्ने निर्णय गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
अन्तरिम संरचना गठन तथा १३औँ महाधिवेशन अघि केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठित क्रियाशील सदस्यता छानबिन समितिले निर्णय गरेबमोजिमको क्रियाशील सदस्य अभिलेख अद्यावधिक गर्ने कार्य आगामी मङ्सिर मसान्तभित्र सम्पन्न गरिनेछ ।
त्यसपछि बस्ने केन्द्रीय कार्यसमितिको बैठकले १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने बैठकले निर्णय गरेको पार्टी कार्यालयले जनाएको छ ।