अविरल वर्षासंगै आएको बाढीले गेर्खु खोलामा राखिएको डाइभर्सन बगाउँदा पासाङ ल्हामू राजमार्ग अवरुद्ध भएको छ ।
शुक्रबार राति आएको बाढीले पासाङ ल्हामू राजमार्गकोे त्रिशूली–बेत्रावती सडकखण्डको गेर्खु खोलामा राखिएको डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको हो । तीन दिनअघि बगाएपछि पुनः बनाएको डाइभर्सन राति फेरि बगाएको हो ।
विदुर नगरपालिका वडा नं. १ र १० को सीमामा रहेको गेर्खु खोलाले गएको वर्षको बर्खामा पुल भत्काएपछि अस्थायी रुपमा बनाइएको डाइभर्सन यो वर्ष दुई पटक बगाइसकेको छ ।
अस्थायी रुपमा खोलामा ह्यूम पाइप हालेर सडक सञ्चालन गर्ने तयारी भए पनि खोलामा पानीको बहाव ठूलो भएकोले काम सुरु गर्न कठिनाइ भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
डाइभर्सन बगाएको कारण नुवाकोट र रसुवाको यातायात ठप्प भएको छ । रसुवा जानका लागि वैकल्पिक सडक त्रिशूली–तुप्चे–पहिलेबेसी सडकको तुप्चेको अधेरी खोलामा आएको बाढीले सडक बगाएको कारण सवारी साधनहरु रोकिएका छन् ।