उपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्स मार्फत मन्त्रीपरिषद् बैठकको अध्यक्षता गरेका छन् ।
सोमबार सिंहदरबारमा पहिलो पटक भिडियो कन्फ्रेन्स मार्फत मन्त्रिपरिषद् बैठकको अभ्यास गरिएको हो । बैठकमा मन्त्रीहरुले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेका थिए ।
प्रधानमन्त्री ओलीले पनि धन्यवाद दिदै स्वास्थ्य उपचार सफलता पुर्वक र राम्रो ढंगले अघि बढेको जानकारी गराएका थिए । सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले भिडियो कन्फ्रेन्सको पहिलो प्रयास सफल भएको जानकारी दिए । बैठकमा मन्त्रीहरुले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्नुको साथै आ–आफ्नो मन्त्रालयगत समस्या राखेको र ती समस्यामा प्रधानमन्त्रीले पनि आवश्यक निर्देशन दिएको प्रवक्ता बाँस्कोटाले जानकारी दिए ।
भिडियो कन्फ्रेन्स मार्फत गरिएको मन्त्रीपरिषद् बैठकको भिडियो खिच्न भने दिईएको थिएन । मन्त्रिपरिषद् बैठकले नै प्रधानमन्त्री ओली सिंगापुर जानु अघि कार्यविधि संसोधन गरि भिडियो कन्फ्रेन्स मार्फत पनि मन्त्रिपरिषद् बैठक बस्ने सक्ने व्यवस्था गरिएको थियो ।