नेपाली काङ्ग्रेसले म्याद समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थालाई छ महीनाभित्र महाअधिवेशन गर्न निर्देशन दिएसँगै सबै भ्रातृ र शुभेच्छुक संस्थाको विधानमा समेत सैद्धान्तिक विषयमा एकरुपता कायम गर्ने भएको छ ।
यही भदौ १७ गते सम्पन्न पार्टीको केन्द्रीय कार्यसमिति बैठकले अवधि समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थाका केन्द्रीय समितिलाई अधिवेशन तयारी समितिमा रुपान्तरण गरी छ महीनाभित्र महाअधिवेशन गर्न निर्देशन दिएको थियो ।
उक्त कार्यका लागि पार्टीका केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा केन्द्रीय सदस्यहरु नवीन्द्रराज जोशी, ईश्वरी न्यौपाने, श्यामकुमार घिमिरे, गोविन्द भट्टराई, गुरुराज घिमिरे र प्रदीप पौडेल सदस्य रहेको समिति गठन गरिएको छ ।
समितिलाई सबै भ्रातृ र शुभेच्छुक संस्थाका विधानको मापदण्ड तयार गरेर सैद्धान्तिक विषयमा एकरुपता कायम हुने गरी दुई हप्ताभित्र प्रतिवेदन तयार गर्न कार्यादेश दिइएको समिति सदस्य न्यौपानेले जानकारी दिए।
त्यस्तै नयाँ भ्रातृ र शुभेच्छुक संस्थाको रुपमा मान्यता पाउनका लागि पार्टी केन्द्रीय कार्यालयमा आएका निवेदनमाथि छानविन गरी राय पेश गर्ने अर्को जिम्मेवारी समितिलाई प्रदान गरिएको छ ।
नेपाल विद्यार्थी सङ्घको विधान भने संरचनागत रुपमा केही फरक हुनेछ । विद्यालय तहदेखि नै साङ्गठिक संरचना हुने भएको नेविसङ्घ विधान अन्य भ्रातृ संस्थाको तुलनामा केही फरक हुने पार्टीका केन्द्रीय सदस्य न्यौपानेले बताए।