सरकारले गौतमबुद्ध विमानस्थलमा उडान तथा अवतरण गर्ने विमान कम्पनीलाई थप सुविधा दिने भएको छ ।
अहिले भौतिक निर्माण करिब ८० प्रतिशत सम्पन्न भएको उक्त विमानस्थलाई सन् २०२० को जनवरीदेखि व्यावसायिक उडान गर्ने लक्ष्य राखेको छ । अहिले निर्माण कार्य युद्धस्तरमा जारी रहेको विमानस्थललाई थप व्यावसायिक बनाउने र काठमाडौंमा अवस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउन पनि केही आकर्षक सुविधा दिने सरकारको तयारी छ ।
ओमनको वायु सेवा प्रदायक सलाम एयरको ‘जनरल सेल्स म्यानेजर’ समेत रहेको आइएमई समूहले आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले काठमाडांैबाट उडान र अवतरण हुने वायु सेवा प्रदायक कम्पनीलाई भन्दा गौतमबुद्ध विमानस्थलबाट त्यस्तो सेवा दिने कम्पनीलाई थप केही सुविधा दिने बारेमा सरकारले गृहकार्य गरिरहेको बताए ।
गौतमबुद्ध विमानस्थलाई केन्द्रमा राखेर उडान तथा अवतरण गर्ने वातावरण मिलाउन नेपालमा उडान गरिरहेका वायु सेवा प्रदायक कम्पनी तथा नेपाल आउन चाहेका अन्य कम्पनीलाई समेत सरकारले आग्रह गरेको उनको भनाइ छ ।