प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले डेंगू रोग नियन्त्रणका लागि तत्काल ठोस कार्ययोजना बनाई संसदमा पेश गर्न सरकारसँग माग गरेको छ ।
नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले डेंगू रोग नियन्त्रणका लागि तत्काल ठोस योजना बनाई संसदमा पेश गर्न सरकारसँग माग गरिन् ।
आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले ७० हजार भन्दा बढी नागरिकलाई रोगको संक्रमण हुँदा पनि सरकारले त्यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न नसकेको उल्लेख गर्दै त्यसबारे ठोस योजना बनाएर संसदमा पेश गर्न सरकारलाई रुलिङ गर्न सभामुख कृष्णबहादुर महराको ध्यानाकर्षण गराइन् ।
उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेक्टर कन्ट्रोल नियन्त्रकहरुको पद खारेज गरेर हालसम्म पनि डेंगू नियन्त्रणका लागि गाउँगाउँ चिकित्सकहरुको टोली परिचालन हुन नसकेको भन्दै आपत्ति पनि जनाइन् ।
त्यसैगरी काँग्रेसका अर्का सांसद डिला संग्रौलाले पनि डेंगू रोगको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै सरकारको आलोचना गरिन् ।