प्रथम जननिर्वाचत प्रधानमन्त्री बिपी कोइरालाको १०६ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मुलुकभर मनाइँदैछ ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो ।
प्रजातन्त्र स्थापनाको मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा विसं २००६ मा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएपछि विसं २००७ को क्रान्ति सफल भयो । क्रान्तिको सफलतापछि मोहन शम्शेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा बीपी गृहमन्त्री बनेका थिए ।
विसं २०१५ को आम निर्वाचनमा कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभएको थियो । विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो ।
यसैगरी नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान आजबाट देशभर एकैसाथ सुरु गर्दैछ । कांग्रेस संस्थापक बीपी कोइरालाको १०६ औं जन्म जयन्तीको अवसर पारेर सुरु गरिएको अभियानको उदघाटन १०६ वटा बिरुवानै रोपेर गरिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
समग्रमा देशभर ३४ हजार ९ सय ८० बिरुवा रोपिने उनले बताए ।