प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पार्टीका बाँके जिल्ला सभापति किरण कोइरालासहितका एक दर्जनबढि नेता, कार्यकर्तामाथि सांघातिक हमला गर्नेमाथि कडा कार्वाही गर्न सरकारसँग माग गर्दै काठमाडौंमा प्रर्दशन गरेको छ ।
नेपाली काँग्रेस, जिल्ला कार्य समिति काठमाडौंको आह्वानमा पार्टीका बाँके जिल्ला सभापतिमाथि सत्तारुढ नेकपाकै संलग्नतामा सांघातिक आक्रमण गरेको दावी गर्दै दोषीलाई पक्राउ गरी कडा कार्वाही गर्न माग गर्दै शनिबार दिउँसो काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रर्दशन गरिएको हो ।
सितापुरमा आयोजिक कार्यक्रममा सहभागी भएका पार्टीका बाँके सभापति कोइरालासहित १ दर्जन बढिलाई आक्रमण गरी घाइते बनाएपछि त्यसको विरोधमा काठमाडौंसहित देशभर शान्तिपूर्ण विरोध प्रर्दशन गरिएको नेपाली काँग्रेस, काठमाडौंका सभापति सबुज बानियाले जानकारी दिए ।
करिव १५ मिनेट शान्तिपूर्ण धर्नामा रहेका काँगे्रेस नेता, कार्यकर्ताहरुले नागरिकलाई शान्ति सुरक्षा दिन पूर्णत असफल भएको दावी गर्दै सरकारको विरुद्ध चर्का नाराबाजी गरेका थिए । गत बुधबार बाँकेको सितापुरमा पार्टीका राष्ट्रिय जागरण अभियानको कार्यक्रममा सहभागी भएका नेपाली काँग्रेस बाँके जिल्ला सभापति कोइराला, महाधिवेशन प्रतिनिधि विद्याप्रसाद खनालसहित एक दर्जन बढि नेता, कार्यकर्ता घाईते भएका थिए ।
सो घटनामा सत्तारुढ दलकै संलग्नता रहेको दावी गर्दै नेपाली काँग्रेसले दोषीमाथि कडा कार्वाही गर्न सरकारसँग माग गर्दै देशभर विरोध प्रर्दशन सुरु गरेको हो ।