साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले प्रशासन यन्त्रलाई कामै गर्न नदिने कर्मचारी युनियन खारेज गर्नुपर्ने बताएका छन् ।
साझा पार्टीको गोरखा संयोजक घोषणा सभामा बोल्दै नेता मिश्रले कर्मचारी युनियन, शिक्षक युनियन, प्राध्यापक युनियनहरु सबैलाई खारेज गर्नुपर्ने बताए ।
आफ्नो पार्टी सरकारमा आएमा सबै कर्मचारी युनियनलाई खारेज गर्ने उनको भनाइ छ ।कर्मचारी युनियनले आफू र नेताको काम मात्र गर्ने, राष्ट्रको काम नगर्ने गरेको मिश्रको आरोप छ ।
सर्वसाधारण नेपालीले तिरेको राजस्वबाट तलब खाएका एकजना नासु, एकजना खरदारले कर्मचारी युनियनको बलमा सचिवको टेबुल ठटाएर, सचिवलाई कालोमोसो लगाएर अनैतिक काम गर्न दबाब दिने गरेको उनको भनाइ छ ।
राजनीतिक दलका शुभेच्छुक संगठन, भातृ संगठनका रुपमा रहेका सबै कर्मचारी युनियन, सबै शिक्षक युनियन, प्राध्यापक युनियन खारेज गरेमा मात्रै देशमा बल्ल सुशासन सुरु हुने संयोजक मिश्रको दाबी छ ।