राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको चीनसँग भएका सम्झौता तथा समझदारीबाट नेपालले तेस्रो मुलुकसम्म सरल पहुँच प्राप्त गर्नसक्ने थप आधार विकास भएको बताउनुभएको छ ।
आफ्ना चिनियाँ समकक्षी सी जिनपिङलाई शनिबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा स्वागतपछि आयोजित द्विपक्षीय उच्चस्तरीय वार्तामा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–चीन सम्बन्ध सागर झैँ गहिरो र सगरमाथा जस्तै उच्च रहेको बताउनुभएको छ ।
आफ्नो चीनको राजकीय भ्रमणका क्रममा भएको दोस्रो ‘क्षेत्र तथा मार्ग मञ्च’ (बीआरआई) को सफलतापूर्वक समापन भएकोमा प्रशंसा गर्दै मञ्चको निर्णयमा हिमालपार अन्तरसीमा बहुआयामिक सम्पर्क सञ्जालको उल्लेख भएको र त्यसबाट रेलमार्ग, सडक, सुरुङजस्ता पूर्वाधार विकास हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नेपाल र चीनबीचको सम्बन्ध हिमाल तथा नदीहरुद्वारा जोडिएको, दुई देशबीच शदियौँदेखि सामाजिक, सांस्कृतिक सम्पर्क रहिआएको, चिनियाँ भिक्षु, फा सियान र हु यान साङ तथा नेपाली भिक्षु बुद्धभद्र, राजकुमारी भृकुटी र कलाकार अरनिकोले जनस्तरको सांस्कृतिक सम्बन्धलाई समृद्ध बनाउन ठूलो योगदान दिएको स्मरण गर्नुभयो । दुई दिने नेपाल भ्रमणका लागि आउनुभएका सी आज दिउँसो १ बजे स्वदेश फर्कने कार्यतालिका छ ।
त्यसअघि सीले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्नुहुनेछ भने केही सम्झौतामा समेत हस्ताक्षर हुने कार्यक्रम रहेको छ । त्यस्तै सीले आजै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने तय भएको छ । यसैबीच चिनियाँ राष्ट्रपति सीले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गर्नुभएको छ ।
नेपाल र चीनका विभिन्न शहरबीच भगिनी सम्बन्ध कायम गरिने बताउँदै उहाँले दुई देशबीचको पारस्परिक मैत्री अङ्कुर होस् भन्ने कामना गर्नुभयो । राष्ट्रपति सीले विश्वविद्यालयका क्षेत्रमा पनि सहयोग गर्न तथा सुविधा विस्तार गर्न चीन तयार रहेको बताउँदै नेपालीको जीवनस्तर उकास्नका लागि सन् २०२० देखि २०२२ सम्मका लागि ३ दशमलव ५ अर्ब आरएमबी(झण्डै ५६ अर्ब नेपाली रुपैयाँ) उपलब्ध गराइने जानकारी दिनुभयो ।
दुईदिने नेपाल भ्रमणका क्रममा शनिबार अपराहृन काठमाडौं आइपुग्नु भएका राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले होटल सोल्टीमा रात्रीभोज आयोजना गरेकी थिइन् ।