बझाङको सदरमुकाम चैनपुरमा लाग्ने प्रसिद्ध धार्मिक तथा ऐतिहासिक सिलदेवी मेला सुरु भएको छ।
कोजाग्रत पूर्णिमाको दिन बाट सुरुहुने यो मेला जिल्लाको प्रसिद्ध र प्रमुख मेलामा रुपमा मानिने हुदाँ विभिन्न कार्यक्रम गरि चार दिनसम्म मनाइन्छ।
एघारौं शताब्तीतिर दुर्गादेवीकी १६ बहिनीमध्ये सुर्मादेवी सुर्मा सरोवर जाने क्रममा चैनपुर आएको र चैनपुरका जोख्या थापासित काँक्रो माग्दा नदिएपछि आफ्नो दिव्य शक्तिले सेती नदी र बाहुलीगाड खोलाको बहाब बढाई चैनपुर बगाइदिएको किम्बदन्ती छ ।
उक्त भनाइअनुसार कोजाग्रत पूर्णिमाको दिन भएको घटना चैनपुर उपत्यका बीच भागमा रहेको ढुंगामा बसेर सुर्मादेवीले हेरेकाले सोही ढुंगा शिललाई त्यहाँका मानिसले मन्दिर बनाई पूजा गर्दै मेला गर्न थालेका हुन् ।
मेलाको दिन आएर शिलदेवीको दर्शन गरे पुण्य प्राप्त हुने र इच्छित बर प्राप्त हुने विश्वास छ ।
मेला अवलोकनका लागी बझाङलगायत सुदूरपश्चिमका विभिन्न जिल्लाबाट दर्शनार्थी चैनपुर आउने गर्छन ।