मिर्गौला किनबेच तथा विक्री वितरणमा संलग्न भएको आरोपमा निदान अस्पतालबाट पाँच जना पक्राउ परेका छन् ।
प्रहरीले निदान अस्पतालका सीइओ र चिकित्सकसहित पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अस्पतालका सीईओ विपेन्द्र प्रधान, अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, अस्पतालका डाक्टर राजेश पन्त, मिर्गौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आले रहेका छन् ।
पक्राउ परेका उनीहरुलाई मानव बेचविखन तथा ओसापसार नियन्त्रण ऐन अनुसार अनुसन्धान र कारबाही हुने प्रहरीले जनाएको छ ।
मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ मा मानिसको अङ्ग झिक्ने कार्यलाई मानव बेचविखन र ओसारपासर गरेको मानिने उल्लेख गरिएको छ ।