गैरआवासीय नेपाली सङ्घ एनआरएनएका नवनिर्वाचित अध्यक्ष कुमार पन्तले समृद्ध नेपाल निर्माणका निम्ति लगानी भित्र्याउन संस्था प्रतिवद्धताका साथ लागि परेको बताएका छन्।
एनआरएनए नवनिर्वाचित पदाधिकारीलाई सम्मान तथा बधाई दिन रिपोर्टर्स् क्लबले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष पन्तले नेपाल सरकारसँग १२ अर्ब रुपैयाँ भित्र्याउका लागि एमओयू गरिसकेको र उक्त प्रतिवद्धता पूरा गर्नका लागि काम सुरु गरिसकेको बताए ।
उक्त म्युच्युअल फण्डमा ९० प्रतिशत एनआरएनएको लगानी रहने र बाँकी १० प्रतिशतमा पाँच प्रतिशत निजी क्षेत्र र अर्को पाँच प्रतिशत नेपाल सरकारको रहने अध्यक्ष पन्तले जानकारी दिए।
गैरआवासीय नेपालीले विदेशमा हासिल गरेको ज्ञान, सीप, पुँजी र लगानी नेपाल भित्र्याएर देशको विकास र समृद्धिका लागि सामूहिक लगानी बढाइने उनको भनाइ थियो।
पछिल्लो समय एनआरएनएले नेपालमा सामूहिक लगानीमार्फत २७ मेगावाटको तोर्दी खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेको छ।