स्वास्थ्यमा समस्या र अस्पतालमा उपचार सामग्री नभएको अस्पतालले जनाएपछि अनशनरत केसीलाई लिन डडेल्धुरा पुगेको नेपाली सेनाको हेलिकोप्टर रित्तै फर्किएको छ ।
सोमबार बिहानैदेखि अस्पतालमा पुगेर केसीलाई काठमाडौं लैजानका लागि सुरक्षाकर्मीले दबाब दिएपनि डा केसीले डडेलधुरा नछोड्ने अडान लिएका थिए ।
आठ दिनदेखि डडेल्धुरामा आमरण अनशनरत डा गोविन्द केसीलाई सुविधासम्पन्न अस्पताल पठाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुराले गरेको पहल विफल भएको छ । डा.केसीलाई काठमाडौं ल्याउने सरकारको प्रयास पनि सफल हुन सकेन।
केसीका समर्थकले पनि उनलाई स्थानान्तरण नगर्न आग्रह गर्दै आएका छन् । चिकित्सकका अनुसार केसीको स्वास्थ्य अवस्था नाजुक भएको छ ।
केसीले डडेलधुरा अस्पताल नजिकै १८ गतेबाट अनशन सुरु गरेका थिए भने उनको स्वास्थ्यमा समस्या आएपछि चार दिनअघि अस्पताल भर्ना भएका थियो ।
अनशनरत डा.केसीले काठमाडौं जान नमानेपछि प्रमुख जिल्ला अधिकारी राजप्रसाद पौडलेले सर्वदलीय सर्वपक्षिय बैठक आह्वान गरेका थिए । दिउँसो जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बसेको सर्वदलीय सर्वपक्षिय बैठकले डा.केसीलाई इच्छाविपरीत लान नमिल्दैन बताउदै उनको माग सम्बोधनका लागि सबैले पहल गर्नुपर्ने निष्कर्ष निकालेको थियो।
सरकारले आठ दिन हुँदा समेत कुनै प्रतिक्रिया नजानाएकोमा बैठकमा सहभागीले आक्रोश पोखेका थिए। उनीहरुले केसीका माग तत्काल सम्बोधन गर्न सरकारले अग्रसर हुनुपर्ने धारण राखेका थिए।
आफूले अघि सारेका माग पूरा नभएसम्म डडेल्धुराबाट अन्यत्र नजाने अडान केसीको छ। सोमबार बिहान प्रहरी प्रशासनले बल प्रयोग गरेर काठमाडौं लैजाने प्रयास गरेपछि केसीले प्रहरी–प्रशासनको गुन्डागर्दी चल्दैन भन्ने अभिव्यक्ति दिएका हुन्।
आफूसँग कुनै सल्लाह नगरी प्रहरी परिचालन गरी लैजान खोज्नु गुण्डागर्दी प्रवृत्ति भएको डा केसीले आरोप लगाएका छन्।
आफ्नो स्वास्थ्य अवस्था ठिक रहेकाले प्रहरी प्रशानको र ओलीको गुन्डागर्दी नचल्ने उनले बताए । उनले प्रहरी जनताको सेवक हुनुपर्नेमा ओलीको सेवक भएको बताउदै जनताले मेरो उपचार गर्नुपर्छ भनेपछि मात्रै जाने प्रतिबद्धता गरे ।