पुष्कर खड्का ।रामेछाप ।
नगरकोट सडक कालोपत्रे नगर्ने ठेकेदार शारदाप्रसाद अधिकारीको फोटो बिजुलीका पोलपोलमा र सवारी साधनमा टाँसेर ठेकेदार थर्काउने नयाँ शैली अन्यत्र पनि सुरु भएको छ ।
यस्तै काम नगर्ने ठेकेदारको फोटो टाँसेर विरोध गर्ने शैली दोलखा चरिकोटका बासिन्दाले पनि सुरू गरेका छन् । सिन्धुपाल्चोकको खाडीचौर चरिकोटमा चल्ने गाडी, पोल र चोकमा ठेकेदार दीपक सापकोटाको फोटो टाँसेर शनिबार स्थानीय बासिन्दाले विरोध गरेका हुन् ।
ठेकेदार सापकोटाले मुडे–चरिकोट सडकखण्डको ३० किलोमिटर सडक दुई लेनको कालोपत्रेसहित दुई वर्षमा सक्ने गरी २०७२ भदौमा सम्झौता गरेका थिए। सम्झौता अवधि नाघेर थप गरिएको म्याद नाघेको पनि डेढ वर्ष भएको छ । यस अघि थपेको म्यादमासमेत सडकको निर्माण कार्यले उल्लेख्य प्रगति गर्न नसकेपछि सडक डिभिजन कार्यालय चरिकोटले मुडे–चरिकोट सडकखण्डको ठेकेदार सकिल हेदर–शंकरमाली–सुनौला खिम्ति जेभीलाई दैनिक करिब चार लाखको दरले हर्जना तोकेको थियो।
३ जिल्लाका यात्रुले प्रयोग गर्ने खाडीचौर–चरिकोट सडकको विभिन्न खण्डमा ठूला–ठूला खाल्डा तथा धुलाम्मे हुँदा दैनिक हजारौं यात्रु र सडक आसपासका स्थानीयले सास्ती भोग्नु परेको छ ।
भारतीय एक्जिम बैंकको करिब एक अर्ब २४ करोड ऋण सहयोगमा सिन्धुपाल्चोक जिल्लाको खाडीचौरदेखि चरिकोटसम्मको ५५ किलोमिटर सडक विस्तार आयोजनाले ढल तथा नालाको व्यवस्थापन नगरेकै कारण यात्रु तथा ढुवानीका साधनहरुलेसास्ती खेप्नु परेको छ।
जीर्ण सडककै कारण दोलखाको पर्यटन व्यवसाय ठप्प बनेको छ।