चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजले लिएको शुल्कको अध्ययन र छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।
मेडिकल कलेजले शैक्षिक सत्र २०७२/७३ र ०७३/७४ मा लिएको शुल्कको विषयमा अध्ययन, छलफल र छानबिन गरी निर्णय लिन आयोगको योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका निर्देशकको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन भएको हो ।
गत मंसिर १० गते सरकार र मेडिकल कलेजबीचको बैठकपछि दुई शैक्षिक सत्रको शुल्कको विषयमा अध्ययन गरी निर्णय लिन आयोगले कार्यदल गठन गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार कार्यदल गठन गरिएको आयोगका उपसचिव तुलसीप्रसाद आचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । कार्यदलमा को को रहने भन्ने आयोगले खुलाएको छैन ।
सरकार र निजी मेडिकल कलेजको सम्झौता पत्रमा एमबीबीएस र बीडीएस संकायअन्तर्गत पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको मात्रै शुल्क समायोजन हुने सहमति छ । तर विद्यार्थीले भने उक्त सहमति मान्य नहुने भन्दै आन्दोलन चर्काइरहेका छन् ।