डोटेली भाषाको चलचित्र ‘नन्दी’को छायाङ्कन शुरु भएको छ ।
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीको दिपायलबाट उक्त चलचित्रको छायाङ्कन शुरु भएको हो । सिएस फिल्मस् प्रालि धनगढीको ब्यानरमा निर्माण भइरहेको चलचित्रको निर्माता एवं अभिनेता विनोद बोहरा ‘बोगटानी किङ’ रहेका छन् ।
त्यस्तै निर्देशकमा बाबु थिङ र कार्यकारी निर्माता राज पाठक रहेका छन् । चलचित्रमा अभिनेत्रीहरु एलिषा चाड र मनिषा चाडको अभिनय छ भने यादव गिरी, नरेन्द्र खड्का, तेजा ऐर, मीना सोब, सौगात ओझा, सुरेन्द्र सङ्गम लगायतका कलाकारहरुको सहभागिता रहेको छ ।
भगवान् श्रीरामका पूर्वज राजा दिलीपले पूजा गर्ने गाई ‘नन्दिनी’का नामबाट चलचित्रको नामकरण गरिएको निर्माता÷अभिनेता बोहराले बताए । परापूर्वकालमा राजा दिलीपले गोलोकबाट नन्दिनी गाई ल्याएर दिपायलमा तपस्या गरेको किंवदन्ती छ ।
उक्त गाईद्वारा नै दूधको धारा दिइरहेको ठाँउमा भेटिएको जोतिर्लिङ्गको पूजा, आराधना गरी तपस्या गर्दा राजा दिलीपले मुक्ति पाएको पौराणिक मान्यता रहेको छ ।
सोही ठाउँमा अहिले ‘दिल्पेश्वर मठ’ बनेको छ । यही मठको नामबाट दिपायलको नामकरण भएको मानिन्छ । मठमा अहिले सयौँ वर्ष पुरानो नन्दिनी गाईको सिङ र भगवान श्रीरामको ‘खराउ’ चप्पल सुरक्षित राखिएको छ ।