दक्षिण एशियाको गरिबी निवारण, क्षेत्रीय सुरक्षा र आर्थिक विकासको मुख्य लक्ष्य लिएर सन् १९८५ डिसेम्बर ८ मा स्थापना भएको ‘दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन’ (सार्क) ले विभिन्न कार्यक्रम गरी ३५ औँ वार्षिकोत्सव मनाउँदैछ ।
सन् १९८५ डिसेम्बर ७ र ८ मा बङ्गलादेशको ढाकामा प्रथम सम्मेलन गरी सार्कको यात्रा सुरु भएको हो ।
सार्कको स्थापनाका समयमा भूमिका निर्वाह गर्ने तत्कालीन राष्ट्र र सरकार प्रमुख नेपालका तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहदेव, बङ्गलादेशका राष्ट्रपति हुसेन मोहम्मद एर्शाद, भूटानका राजा जिग्मेसिङ्गे वाङचुक, भारतका प्रधानमन्त्री राजीव गान्धी, माल्दिभ्सका राष्ट्रपति मौमुन अब्दुल गयुम, पाकिस्तानका राष्ट्रपति जियाउल हक र श्रीलङ्काका राष्ट्रपति जुलियस रिचर्ड जयवर्द्धने हुनुहुन्थ्यो ।
आर्थिक समृद्धि र भौतिक विकासका निम्ति आवश्यक पर्ने अपार स्रोत साधनयुक्त दक्षिण एशियाका आठ देशको साझा सङ्गठनले करिब दुई अर्ब जनताको समृद्धिको सपना साकार पार्ने प्रयास गर्दै आएको छ ।
सार्कमा अफगानिस्तान, बङ्गलादेश, भूटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का सदस्य छन् । सार्कको कान्छो सदस्य अफगानिस्तान सन् २००७ अप्रिलबाट सार्कको आठौँ सदस्य राष्ट्र बनेको हो ।