नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले तत्काल नेविसङ्घको नेतृत्व ल्याउन माग गरेका छन् ।
नेविसङ्घले बुधबार आयोजना गरेको ‘विवेकपूर्ण व्यवहार–काँग्रेस एकताको आधार, प्राकृतिक न्यायको आधारमा नेविसङ्घको नेतृत्वमा हाम्रो अधिकार’ विषयक विचार गोष्ठीमा नेविसङ्घका नेताले नेविसङ्घलाई अनिर्णयको बन्दी बनाउन नहुने बताएका हुन् ।
कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेविसङ्घका नेताले मनोजमणि आचार्यले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको पूर्वसन्ध्यामा नेविसङ्घको नेतृत्व नहुनु दुःखद भएको बताए ।
इतिहास बोकेको विद्यार्थी सङ्गठन कमजोर हुँदै गएको उनको भनाइ छ । नेविसङ्घका नेता दीपक भट्टराईले पार्टी नेतृत्वले काखा र पाखाको आधारमा क्षमतावान् व्यक्तिलाई किनारा लगाएर अयोग्य व्यक्तिलाई नेतृत्व दिन खोजेको आरोप लगाए ।
नेविसङ्घका नेता हिमालदत्त श्रेष्ठ, प्रतिमा गौतम, शिव रिमाललगायतले पार्टीको नर्सरीका रुपमा रहेको नेविसङ्घ लामो समयदेखि खाली हुनु दुर्भाग्य भएको बताएका छन् ।
आचार्यलाई नेविसंघको नेतृत्वमा ल्याउन वरिष्ठ नेता पौडेल लागि परेको छन् ।
विसं २०७५ माघमा नेविसङ्घका तत्कालीन अध्यक्ष नैनसिंह महरले राजीनामा दिएपछि हालसम्म नेविसङ्घ नेतृत्वविहीन बन्दै आएको छ ।