निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ।
आयोगले माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको हो। सरकारले राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि निर्वाचनको मिति घोषणा गरेपछि आयोगले दल दर्ताको म्याद आजदेखि पुस ६ गतेसम्म तोकेको हो।
नेपाल कम्युनिस्ट पार्टीका ८, नेपाली कांग्रेसका ७ र राष्ट्रिय जनता पार्टीका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजनाको कार्यकाल फागुन २१ मा सकिदै छ।
कार्यकाल सकिने सदस्यहरूमा नेकपाबाट बलराम बास्कोटा, राजकुमार कुँवर, मीना बुढा, हरिचरण शिवाकोटी, कमलाकुमारी ओली, कालिबहादुर मल्ल, खेमराज नेपाली र युटोल तामाङ रहेका छन्। यस्तै, सरकारबाट मनोनित भएका अर्थमन्त्री युवराज खतिवडाको पनि कार्यकाल पूरा हुँदैछ ।
कांग्रेसबाट राष्ट्रियसभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईंसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रपसाद उपाध्याय, धनकुमारी खतिवडा, राजपाका वृशेषचन्द्र लाल, रमेशप्रसाद यादव र समाजवादीका रामप्रित पासवानको पनि २ वर्षको कार्यकाल सकिँदैछ ।