काठमाडौं । राष्ट्रगानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला) आगामी माघ ११ गते (२५ जनवरी) उनको सम्मानमा दक्षिण कोरियामा आयोजना गर्न लागिएको विशेष नागरिक अभिनन्दनमा सहभागी हुन बुधबार राती त्यसतर्फ प्रस्थान गरेका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरिया र ओखलढुंगा सेवा समाज दक्षिण कोरिया लगायतका संघसंस्था र त्यहाँ कार्यरत नेपाली युवाहरुले उनलाई सम्मान गर्न लागेको हो ।
दक्षिण कोरियाको राष्ट्रिय चाड ‘सल्नाल’ को अवसरमा राजधानी सियोलमा व्याकुल माइलाको भव्य समारोहका बीच अभिनन्दन गरिने आयोजकले जनाएका छन् । दक्षिण कोरियामा कार्यरत नेपाली युवाहरुको विभिन्न संस्थाले समेत अभिनन्दन गरिने जनाइएको छ ।
कोरियाली राष्ट्रिय चाड सल्नालको अवसरमा दक्षिण कोरियामा रहेका नेपाली दाजुभाई, दिदीबहिनी र दक्षिण कोरियाली नागरिकप्रति शुभकामना दिँदै व्याकुल माइलाले कोरिया बसाईको क्रममा आफुले नेपाल भ्रमण वर्ष २०२० को समेत प्रचारप्रसार र नेपालको प्रर्वद्धन गर्ने पनि जनाएका छन् ।
‘हामी नेपालीहरु विश्वको जुनसुकै कुनामा पुगे पनि आफ्नो देश, समाजलाई बिर्सिदैनौं भन्ने उदाहरण हो,’ दक्षिण कोरिया भ्रमणको पूर्वसन्ध्यामा माइलाले भने । ‘करिब ६० हजारको संख्यामा दक्षिण कोरियामा रहेका नेपाली युवाहरुले राष्ट्रलाई, नेपाली माटोलाई, लोकतान्त्रिक परिवर्तनका लागि लडेका योद्धाहरु र सहिदहरुप्रति गरेको सम्मानको रुपमा यस अभिनन्दनलाई लिएको छु’—उनले भने ।