काठमाडौं । समाजिक संजालमा विज्ञापन गर्ने क्रम बढ्दै गएको छ । यसरी विज्ञापन गर्दा स्वदेशी रकम विदेश गएको छ ।
यही अवस्थालाई मध्यनजर राख्दै नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालमा गरिने विज्ञापनमा कडाइ गर्ने भएको छ ।
फेसवुक, ट्वीटर, यूटुबलगायतका सामाजिक सञ्जालमा विज्ञापन गर्दा अवैधानिक तरिकाले भुक्तानी भएको र रकम विदेश गएको भन्दै राष्ट्र बैंकले सामाजिक सञ्जालमा विज्ञापन नगर्न सचेत गराउँदै एक सूचना जारी गरेको छ ।
सामाजिक सञ्जालमा विज्ञापन गरी रकम भुक्तानी गर्दा र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गरैकानुनी भएको राष्ट्र बैंकले जनाएको छ । यसो गर्दा विदेशी विनिमय अपचलन हुने भएको भन्दै यस्तो गरे विदेशी विनमय (निमित गर्ने) एेन २०१९ अनुसार कारबाही हुने बैंकले जनाएको छ ।
पछिल्लो समय सामाजिक सञ्जालमा व्यक्ति तथा संस्थाहरुले विज्ञापन गर्ने क्रम बढ्दो छ । २ वर्षअघि भएको तीनै तहका निर्वाचनमा नेताहरुले विज्ञापनका लागि सामाजिक सञ्जालमा राम्रै खर्च गरेका थिए । फेसबुक पेज बनाउने र फेसबुकलाई पैसा तिरेर प्रचार गर्ने लहरै चलेको थियो ।
त्यसबेला करिब २० करोड रुपैयाँ सामाजिक सञ्जालको विज्ञापनमा खर्च गरिएको अनुमान गरिएको थियो । कतिपय नेताहरुले अहिले पनि आफ्ना विभिन्न गतिविधिहरु ‘स्पोन्सर्ड’ गरेर फेसवुकमा विज्ञापन गरिरहेका छन् ।
नेतामात्रै होइन, पछिल्लो समय सञ्चारमाध्यम, उद्योगी, व्यवसायीहरु समेत सामाजिक सञ्जालमार्फत आफ्नो उत्पादनको विज्ञापन गर्ने गरेका छन् । सामाजिक सञ्जालमा धेरैको पहुँच हुने कारणले पनि सामाजिक सञ्जालमा विज्ञापन गर्नेको संख्या बढ्दो मात्रा छ ।
सरकारले यसका लागि नियमन गर्न भन्दै विधयेक संसदमा दर्ता समेत गराइसकेको छ । एउटा सामाजिक सञ्जालको प्रयोग नियमनका लागि सरकारले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गरेको विधयेक, २०७५ संसदमा दर्ता गराएको छ । यो विधयेक संसदीय समितिबाट पारित भइसकेको छ ।
अर्को सामाजिक सञ्जालमा हुने विज्ञापनलाई समेत करको दायरामा ल्याउने व्यवस्था समेटिएको विज्ञापन नियमन ऐन पनि लागू भइसकेकको छ । यो ऐनमा सामाजिक सञ्जालमा हुने विज्ञापनलाई समेत नियमन गर्ने व्यवस्था गरिएको छ ।