प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चीनको वुहानमा रहेका नेपालीलाई यथाशीध्र नेपाल ल्याउन सरकारसँग माग गरेको छ। शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाद्वारी हस्ताक्षरित विज्ञप्ति जारी गर्दै यस्तो माग काँग्रेसले गरेको हो ।
वुहानबाट अन्य देशले आफ्ना नागरिक फिर्ता लैजान थालेको भन्दै काँग्रेसले त्यहाँ रहेका आफ्ना विद्यार्थी र अन्य नागरिकलाई फिर्ता ल्याउन कुनै गम्भीरता नदेखाउनु आपत्तिजनक भएको जनाएको छ।
‘कयौं देशले चीनको वुहान शहरबाट आफ्ना नागरिकलाई स्वदेश फर्काइसकेको विवरण आएका छन्। तर, त्यहाँ रहेका करिब एकसय नेपाली विद्यार्थीसँगै अन्य नेपालीलाई स्वदेश फर्काउन सरकारले कुनै गम्भीरता नदेखाउनु दुःखद र आपत्तिजनक छ’, जारी विज्ञप्तिमा भनिएको छ ।’
कांग्रेसले कोरोना भाइरसको प्रवेशलाई रोक्नका लागि नेपाल प्रवेशका सबै अन्तर्राष्ट्रिय नाकामा बिशेष हेल्थ डेस्क प्रभावकारी ढंगले सञ्चालन गर्न माग समेत गरेको छ। सभापति देउवाले संक्रमण परिक्षणका लागि राजधानीमा अलग्गै केन्द्र तत्काल स्थापना गर्नुपर्ने भन्दै यस कार्यलाई गम्भीरतापूर्वक लिएर गम्भीरताकासाथ काम गर्न समेत सरकारलाई सचेत गराएका छन्।
सभापति देउवाले कोरोना भाइरस नियन्त्रणका लागि चीन सरकारले गरिरहेको प्रभावकारी कार्यको प्रशंसा गर्दै कोरोनाका कारण ज्यान गुमाउनेका परिवार र चीन सरकारप्रति समवेदना समेत व्यक्त गरेका छन्। उनले कोरोना भाइरसको प्राणघातक संक्रमणप्रति संयमपूर्वक सतर्कताका लागि पार्टीका तर्फबाट स्वदेश र विदेशमा रहेका समस्त नेपालीहरुमा अपिल समेत गरेका छन्।