काभ्रे पलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका वडा नम्बर ८ स्थित दोलालघाटको बन्देउमा भ्युटावर सहितको बुद्धपार्कको निर्माण हुने भएको छ ।
वाग्मती प्रदेशस्थित उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको करीब पाँच करोड ५० लाखको बजेटमा पर्यटकीयस्थल दोलालघाटमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भ्यू टावर तथा बुद्धपार्क निर्माण गर्न लागिएको हो ।
वाग्मती प्रदेशका पर्यटनमन्त्री अरुण नेपालले आइतबार उक्त भ्यू टावर तथा बुद्धपार्कको शिलान्यास गर्दै बजेट व्यवस्थापन गरी दोलालघाटमा यसै आर्थिक वर्षभित्र भ्यू टावर तथा अर्को आवमा बुद्धपार्क निर्माण गरिने जानकारी दिए ।
बागमती सरकारले धार्मिक, एतिहासिक, नयाँ नयाँ पर्यटनको सम्भावना भएका स्थानहरुमा बिभिन्न बिकासको पुर्वधारहरु निर्माणमा जोड् दिएको बताए ।
भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले प्रदेश सरकारको सहयोगमा दोलालघाटको बन्देउमा बुद्धको मुर्ति सहितको पार्क निर्माणबाट भुम्लुको मुहर फेर्ने बताए ।
पार्कमा पिकनिङ स्पोट, बुद्धको मुर्ति, सबै तिर अवलोकन गर्न सकिने भ्युटावार, बिश्राम गर्ने स्थालहरु, तीन स्थानमा शौचालय समेत निर्माण हुनेछ ।
त्यसैगरी, वाग्मती प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख उद्धव केसी, दोलालघाट उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश कक्षपति लगायत स्थानीयवासीले दोलालघाटमा पर्यटकीयस्थल प्रवद्र्धन गर्न निर्माण गरिएका संरचनाको संरक्षण गर्नुपर्ने सुझाव दिएका छन् ।
दोलालाटमा भ्यू टावरसँगै यस वर्ष सात पिकनिक स्पट, तीन सार्वजनिक शौचालय तथा दोलालघाट बजारसम्म ५८६ मिटर सिँढी निर्माण हुने वडाध्यक्ष मोतिलाल तामाङले जानकारी दिए ।