गगनकुमार थापा
सञ्चारमन्त्री गोकुल बाँस्कोटा र विजय मिश्रबीचको घुस लेनदेनको वार्तालापको अडियो हामीले फागुन ९ गते बिहान सुन्यौं। यो वार्तालाप प्रधानमन्त्रीले केही महिनाअगाडि सुन्नुभएको थियो भन्ने अनुमानहरु होइन, दाबीहरु सञ्चार माध्यममा छापिएका छन्। बजिरहेका छन्।
यसको बारेमा संसदमा आएर उभिएर आँखामा आँखा जुधाएर नागरिक र हाम्रो प्रश्नको उत्तर दिने हिम्मत प्रधानमन्त्रीज्यूसँग छ कि छैन?
प्रधानमन्त्रीज्यूसँग हिम्मत छ कि छैन मलाई थाहा छैन। तर संसदसँग यो हिम्मत हुनैपर्छ। ध्यानाकर्षण मात्रै होइन। संसदले यो सामर्थ्य राख्नै पर्छ। प्रधानमन्त्री डाँडाकाँडा डुलेर बस्ने होइन। तालतलैया हेरेर बस्ने होइन। सदनमा आउनुपर्छ। यहाँ उभिनुपर्छ। हाम्रो प्रश्नको सामना गर्नुपर्छ। हामी यहाँ बसेर उहाँलाई निम्छरो होइन, सही प्रश्नहरु सोध्ने छौं।
सभामुख महोदयलाई, प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुनका लागि रुलिङ गर्नका निम्ति आग्रह गर्न चाहन्छु।
प्रधानमन्त्रीज्यूले के भन्नुहुन्छ, मलाई थाहा छैन। तर उहाँका आसेपासेहरुले केही दिनदेखि एउटै कुरा भनिराख्नुभएको छ, प्रधानमन्त्रीज्यूलाई थाहा थिएन।
प्रधानमन्त्रीको चुलो चलाउने, प्रधानमन्त्रीज्यूको तुलोमा राख्दा कसैले नभ्याउने अनि प्रधानमन्त्रीको भनाइको आधारमा काभ्रेले आजसम्म जन्माएको सर्वाधिक प्रभावशाली प्रधानमन्त्रीको प्रवक्ताले गर्नुभएको यी कुराहरु प्रधानमन्त्रीलाई थाहा थिएन भनेर हामीले पत्याइदिनुपर्ने?
हामीले पत्याउने नै हो भने प्रधानमन्त्रीलाई प्रश्न रहन्छ।
सबै कुरा तपाईंलाई थाहा छैन भने प्रधानमन्त्रीज्यूलाई के थाहा छ?
प्रधानमन्त्रीज्यू, तपाईंलाई थाहा छ, नागरिकहरु के भन्दैछन्?
यो सेक्युरिटी प्रेसको ठेक्का मात्रै होइन। स्याटालाइटको ठेक्का, फोरजी बिस्तारको ठेक्का, अप्टिकल फाइबर बिस्तारको ठेक्का, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको, सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्ने, स्वास्थ्य संस्था, वडा, इकाइ, विद्यालय सबै ठाउँमा फ्रि इन्टरनेट सेवा पुर्याउने, यी सबै ठेक्काका बारेमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई सबै कुरा थाहा थियो। परिस्थिति नियन्त्रणबाहिर गइसकेपछि अहिले गोकुल बाँस्कोटालाई बलीको बोका बनाइएको छ भनेर नागरिकहरु भन्दैछन्। तपाईंलाई थाहा छ?
प्रधानमन्त्रीज्यूले भ्रष्टाचारीको अनुहार हेर्दिनँ भनेर पटकपटक दोहोर्याउनुभएको छ। तर नागरिकहरु तपाईंलाई प्रश्न गर्दैछन्। बालुवाटारमा ऐना छ कि छैन भनेर सोध्दैछन्। प्रधानमन्त्रीज्यू, तपाईंलाई थाहा छ?
प्रधानमन्त्रीज्यू, तपाईंकै पार्टीका कार्यकर्ताहरु ठूलो स्वरले बोल्न सक्दैनन्। तर यहीँ संसदको लबीमा भेट्दै गर्दा कहिलेकाहीँ झिनो स्वरमा हामीलाई कानेखुसी गरेर भन्छन्- हाम्रो प्रधानमन्त्री पहिले पहिले मार्क्सवादीजस्तो देखिनुहुन्थ्यो। बीचमा समाजवादीजस्तो देखिन थाल्नुभयो। आजभोलि यताबाट हेरे पनि, उताबाट हेरे पनि यतिवादी मात्रै देखिनुहुन्छ। प्रधानमन्त्रीज्यू, तपाईंलाई थाहा छ?
एमसिसीको प्रकरणका सन्दर्भमा तपाईंका पार्टीभित्रका खाँटी राष्ट्रवादीहरुले तपाईंलाई जसरी तह लगाइदिएका छन्, अनि दुई दिनअगाडि मात्रै, अहिले जति जालझेल गरेर ‘होइन होइन’ भने पनि तपाईंको पार्टीको बैठकमा एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाउने कुरालाई लिएर संविधान संशोधन गर्ने प्रस्ताव तयार गर्ने कार्यदल बनाउने कुरामा तपाईं जसरी कमजोर देखिनुभयो, यो देखेपछि बाहिर तपाईंलाई के भन्दैछन् थाहा छ? देखिँदाखेरी सुरो, यथार्थमा बिचरो भन्दैछन्।
तपाईंको जन्मदिनको बारेमा म चर्चा गर्न चाहन्न। यो तपाईंको नितान्त व्यक्तिगत कुरा हो। मेरो तपाईंलाई शुभकामना छ।
तर नागरिकहरु के भन्दैछन् थाहा छ? सम्माननीय प्रधानमन्त्रीज्यूको राजसी ठाँटका साथ मनाइएको जन्मोत्सवले हामीलाई ०६०/०६१ सालको पूर्व राजा ज्ञानेन्द्रको न्यास्रो मेटाइदिएको छ भन्दैछन्।
पूर्वराजा यसैगरी हिँडिबस्कस्न्थ्यो। आफैं अभिनन्दन गराउन लगाइबक्सन्थ्यो। विद्यार्थीहरुलाई बोलाइबक्सन्थ्यो। सबैले जयजयकार गर्थे। अनि आफ्नो छेउको भारदारलाई सोधिबक्सन्थ्यो- एकदुई जना मानिसहरु यताउता विरोध गरिरहेका छन् नि? अनि भारदारले भन्थ्यो- महाराज! सब ठीक छ। यी केही एकदुई जना मात्र महाराजको विरोध गरिहरेका छन्।
प्रधानमन्त्रीज्यू मात्रै होइन। त्यो जन्मोत्सव मनाउँदै गर्दा प्रधानमन्त्रीको वरिपरि जे जस्तो भिडभाड देखियो, तँछाडमछाड देखियो। यो देख्दैगर्दा प्रधानमन्त्रीको वरिपरि रहनेहरुले पूर्वराजा ज्ञानेन्द्रको भारदारको न्यास्रो पनि हामीलाई मेटाइदिएका छन्।
प्रधानमन्त्रीज्यू, तपाईंलाई के थाहा छ, के थाहा छैन भनेर मलाई थाहा छैन। मलाई थाहा पाउनु पनि छैन। तर मलाई यति मात्रै कुरा थाहा छ- तपाईंले यी सबै कुराहरु थाहा पाउनुभएको छ। र थाहा नपाएजस्तो गरिरहनुभएको छ भने त्यो पाप हो। तपाईंले केही पनि कुरा थाहा पाउनुभएको छैन भने त्यो अक्षमता हो।
संख्या तपाईंसँग होला प्रधानमन्त्रीज्यू, तर यी दुवै अवस्थामा शासन गर्ने वैधानिक योग्यता, क्षमता तपाईंले गुमाउनुभएको छ। त्यसैले सम्माननीय प्रधानमन्त्रीज्यू, नेपाल कम्युनिस्ट पार्टीको स्वास्थ्यको लागि र सिंगो देश नेपालको स्वास्थ्यको लागि तपाईं स्वास्थ्य लाभ गर्न गइदिनुस्।
(मंगलबारकोप्रतिनिधिसभाबैठकमाविशेषसमयमाथापालेराखेकोधारणाकोसम्पादितअंश)