काठमाडौं । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १५ औं योजना पारित गरेको छ ।
प्रधनमन्त्री निवास बालुवाटारमा सोमबार बसेको आयोगको पूर्ण बैठकले १५ औं योजनालाई पूर्णता दिएको हो । १५ औं योजनाको आधारपत्र भने गत बैशाखमै पारित भएको थियो ।
आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले आधारपत्रको आधारमा तयार पारिएका योजनाहरुलाई पूर्णता दिइएको जानकारी दिए । उनले बैठकमा देशको गरिबी, बेरोजगारी, समृद्धि र सुखका सूचकहरुका विषयमा छलफल भएको बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको सुझाव र अर्थमन्त्री डा. युवराज खतिवडाले दिनुभएको सुझावलाई समेटेर पूर्ण दस्तावेज तयार परिने समेत बताए । त्यस्तै बैठकमा २२ वटा राष्ट्रिय गौरवका आयोजनालाई आवश्यक परेमा परिमार्जन तथा थपघट गर्न सकिने विषयमा पनि छलफल भएको थियो ।
यसबाहेक बैठकले आयोगले पहिचान गरेका १८ वटा रुपान्तरणकारी योजनालाई अगाडि बढाउने निर्णय समेत गरेको छ । बैठकमा योजना आयोगले तयार पारेको १ सय १७ वटा प्रमुख कार्यक्रमहरुका विषयमा समेत छलफल भएको थियो । त्यस्तै सार्वजनिक निजी साझेदारी अन्तर्गत गर्नुपर्ने केही कार्यक्रमका विषयमा छलफल भई कार्यान्वयनमा लैजाने निर्णय भएको उपाध्यक्ष कँडेलले बताए ।