नारायण गाउँले ।
दिनै जसो यसरी पत्रकार सम्मेलन गरेर डोनाल्ड ट्रम्पले कोरोनासँग अमेरिका कसरी लड्दै छ भन्ने ब्रिफिङ् गर्छन् । पत्रकारसँग सवालजबाफ गर्छन् । उपराष्ट्रपतिदेखि अन्य जिम्मेबार अधिकारीले पालैपालो आआफ्नो जिम्मेबारी र तयारीबारे जानकारी दिन्छन् । ट्रम्पसँगैका हरू पनि ठूला नेता र अधिकारी हुन् । तर उभिएरै काम चलेको छ ।
बेलायतमा पनि बोरिस जोनशनले यस्तो ब्रिफिङ् दिँदै आएका छन् । परीक्षण गरिएको सङ्ख्यादेखि सङ्क्रमितको सङ्ख्यासम्म र यसले पारेको सामाजिकदेखि आर्थिक क्षतिसम्मका विषयमा तथ्यहरू प्रस्तुत गर्छन् । आजैमात्र बेलायती अर्थमन्त्रीले यो समस्यासँग जुध्न खरबौंको राहत प्याकेजदेखि साना र मझौला उद्योगलाई एक वर्षसम्म बिजनेस ट्याक्स छुट दिने निर्णय सुनाए । दिनभर मन्त्रीहरू छलफल र प्लानिङमा व्यस्त देखिन्छन् ।
कुनै देशमा प्रधानमन्त्रीले आफ्ना नागरिकलाई कोठाभाड़ाका लागि नआत्तिन भनिरहेका छन् भने कतै ब्याङ्कहरूले होमलोनको किस्ता तीन महिना नतिरे पनि हुने निर्णय गर्दै छन् । चिनियाँ राष्ट्रपतिले यो महामारीबाट प्रभावित उद्योगहरूलाई पुनर्जीवन दिने प्याकेज बनाइरहेका खबर आउँछन् ।
जर्मन चान्सलर हुन् या फ्रान्सेली राष्ट्रपति प्रायः सबै देशमा यो सङ्कटसँग लड्ने सेनाप्रमुख भनेको सरकार प्रमुख नै देखिन्छन् । चीनमा पनि राष्ट्रपति नै अग्रमोर्चामा देखिएका थिए । नेतृत्व भनेको शायद त्यसैका लागि हो । सरकार वास्तवमैं खटिएको छ भन्ने देखियो भने आमजनतामा पनि अलि बढ़ी आत्मविश्वास आउने रहेछ । समस्या र आपतविपत् त जहाँ पनि पर्छ नै ।