काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण फैलिन नदिन मंगलबारदेखि एकसाताका लागि गरेको लकडाउनमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले घोषणा गरेको लकडाउनको निर्णय सही भएको बताउनुभएको हो । उहाँले यसलाई ठूलो जोखिमबाट बच्न सानो कष्टलाई सहजतापूर्वक लिनसमेत आग्रह गर्नुभएको छ । साथै उहाँले यो हाम्रै लागि हो भन्दै सरकार र समुदायका नाममा ७ बुँदे आग्रह गर्नुभएको छ ।
१. लकडाउनको अवधी ७ दिनबाट लम्बिन पनि सक्छ । त्यस्तो स्थितिमा दिनभरि काम गरेर माम जुटाउने बर्गको चुल्हो यो लकडाउनले पूरै लक गर्न सक्छ । अतः सरकारले यथासिघ्र राहतको प्याकेज निर्माण गरेर कार्यान्वयनको प्रक्रिया सुनिस्चित गर्नु दुरदर्शिता हुनेछ ।
२. जोखिमसँग जुध्न दैनिक रूपमा सही सूचना र तथ्यहरु सम्प्रेषण गर्ने कार्यमा सरकारले एकद्वार प्रणाली तत्काल निस्चित गर्नुपर्दछ । जसले नागरिक पंक्तिमा निरन्तर ढाडससंगै उच्च मनोबलको साथ रहनेछ ।र समुदायले सतर्कता राख्दै साथ दिएर यो संघर्षलाई सफल बनाउनु छ ।
३. खाद्यान्न अभाव र असहजता हुनसक्ने स्थिति आउन नदिन संघीय सरकारले‘ तीनै तहको सरकार बीच उचित समन्वय साथ सुलभ स्थिति बनाउन र नागरिकलाई निरन्तर आश्वस्त बनाउन जरुरी छ ।
४. सेल्फ क्वारेन्टाइनमा बस्ने जो कसैलाई पनि कोरोना सम्बन्धि निस्चित लक्षण देखिए ‘ सम्पर्क कहाँ गर्ने,तिनलाई अस्पताल कसरी कहाँ पुर्याइने र उपचार प्रक्रियाको सहजता के हुने ,जस्ता अन्यौल सरकारले यथासिघ्र चिर्न जरुरी छ ।
५. यो तेस्रो विश्वयुद्ध संसारले स्वास्थकर्मीहरुको नेतृत्वमा लड्नुपरेको छ । अतः स्वास्थकर्मीहरुको उच्च मनोबल राख्न, पर्याप्त पिपिइ प्रबन्ध गर्न र प्रयोगशाला कम्तीमा ७ प्रदेशमै प्रबन्ध गरेर परीक्षण सहज बनाउन सरकारले तिब्र कार्य गर्नुपर्दछ ।
६. लकडाउन ले सबैथरी ब्यवसायलाई गम्भीर असर पुग्ने स्थिति दृस्टिगत गरेर सरकारले‘ व्यवसायीको बैंकिङ ब्याज घटाउने र किस्ता तिर्ने समयावधि लम्ब्याउन समन्वयको भूमिका यथासिघ्र निर्वाह गर्नुपर्दछ ।
७. एकातर्फ हामी पूरै देश लकडाउनमा गएका छौं भने अर्कातर्फ लाखौं नेपाली विदेशी भूमिमा लक्ड स्थितिमा छन् । तिनको अभिभावक मूलतः मातृभूमि नेपाल नै हो । सरकारले विविध माध्यमबाट प्रवासी नेपालीको सहजताका लागि भूमिका निर्वाह गर्न जरुरी छ ।
अन्त्यमा‘ सरकारलाई यी सबै आग्रह लकडाउनपूर्वनै हामीले आन्तरिक संवाद मार्फत गरिसकेका छौं ।यस्तो बेला सरकारलाई सघाउनु हामी सबैको कर्तव्य हो । तर सरकारलाई घच्घच्याउने दायित्व पनि हामी सबैको हो । यो दायित्व हामी निरन्तर निभाउनेछौं !