जयप्रकाश आनन्द
पञ्चायती व्यवस्थाको लगभग अन्तिम बेला थियो । राजाको विकास क्षेत्रहरूको भ्रमणको बडो प्रचार गरिन्थ्यो। विकास प्रेमी भनी प्रचारिएका राजाको विकास क्षेत्रमा सशरिर उपस्थिती र योजनाहरूको अनुगमन हुनुलाई ‘भय र उपलब्धी’ को समिश्रित रूपमा हेरिन्थ्यो । दौडहा दरबार लाग्द्थ्यो ।
राजा जुन दिन, जुन निकायको निरीक्षणमा सवारी हुने कार्यक्रम हुन्थ्यो सो अगावै बिभागीय मन्त्रीबाट दौडहा दरबारमा ब्रिफिंग गरिन्थ्यो । राजाको सवारी हुनुपूर्व बिभागीय मन्त्री निरीक्षण स्थलमा पुगिसकेका हुन्थे।
कुरो र सन्दर्भ राजा बीरेन्द्रको पोखरा भ्रमणको हो। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको भ्रमण निर्घारित थियो । बिभागीय स्वास्थ्य मन्त्रीले अस्पतालको प्रांगणमा राजाको स्वागत गरे । राजाको सवारी चलाईयो अस्पतालका वार्डहरूमा ।
तर, वार्डहरूमा बिमारी देखिएन। सफा सुग्घर कोठाहरू थिए । ड्यूटीमा डाक्टर र नर्सहरू थिए । तर बिमारीहरू थिएनन्। अस्वभाविक परिस्थिती भन्ठानेर राजाबाट बिभागीय स्वास्थ्य मन्त्रीलाई बिमारीहरू किन नरहेको भनी सोधनी भयो। वाकपटु थिए मन्त्री जी । उनले भने- “सरकार यस विकास क्षेत्रमा स्वास्थ्य अवस्था बडो राम्रो छ। यहाँ धेरै बिमारीहरूनै हुँदैनन् । ग्रामीण इलाकाका प्राथमिक स्वास्थ्य केन्द्रहरूमै राम्रो सेवा उपलब्ध हुने हुनाले यस क्षेत्रीय अस्पतालमा धेरै बिमारीहरू नै आउदैनन् ।”
डाक्टरहरू चुपचाप रहे । मन्त्रीको वाकपटुता सुनेर उनिहरू अनुहार लुकाई रहेका थिए । अचम्मित राजाले बैंठक कक्षमा मन्त्रीलाई बाहिर राखेर छुट्टै डाक्टरहरूसँग सोध्धा ज्ञात भयो – मन्त्रीको आदेशबाट अपरेशन गरिएका बाहेकका बिरामीहरूलाई भ्रमण अगावै डिस्चार्ज गरिएको रै’छ ।
दरबारका सचिवले मन्त्रीलाई काठमाडौं फर्किन भने । मन्त्री राजधानी नपुग्दै रेडियो नेपालबाट समाचार प्रसारित भयो “स्वास्थ्य मन्त्रीको राजिनामा मौसुफबाट स्वीकृत भयो”। मैले यहाँ मन्त्रीको नाम लेखिन। मेरै जिल्लाको हो, अब बुढो हुनु भो। मानिसले बिर्सी सकेको यो कुरा सम्झेर खिस्सी गर्छन भनेर नाम न लेखेको हुँ। तर, कुरो सत्य हो।
त्यस बेलाका यस्तै अनुभव अरूसँग पनि होला । पुरानो यो कुरालाई स्मृतिमा राखौं र अहिलेको प्रलयकारी कोरोनाभाइरसजन्य परिस्थितिका बारेमा सोचौं।
सरकारमा तथ्यहरूको बोधगम्यता हुनुपर्दछ । सरकार जति खुला र पारदर्शी हुन्छ जनताले पनि सोही बाटो अपनाउने छन् । नेपालको वर्तमानमा प्रक्षेपित जनसंख्या ३ करोड नाघेको देखिन्छ । मार्च ३०, २०२० (चैत्र १७ गते) सम्ममा हामीले कूल ९ सय ९३ जनाको स्याम्पल परिक्षण गरेका छौं । यसलाई नगण्य भन्दा नै हुन्छ ।
अमेरिकाको ३४ करोड जनसंख्या मध्ये मार्च २७ सम्ममा ५ लाख भन्दाबढीको संक्रमण परिक्षण गरिएको छ । सोही बेलासम्म ५ करोड जनसंख्याको दक्षिण कोरियाले ३ लाख ७६ हजार ९ सय ६१ जनाको र जर्मनीले आज १ अप्रिलसम्ममा दैनिक १ लाख जनाको संक्रमण परिक्षण गर्ने लक्ष्य राखेको छ । जबकी १ अर्ब २५ करोड जनसंख्या भएको भारतले मार्च २७ सम्ममा २६ हनार ७ सय ९८ जनाको मात्र परिक्षण गर्न भ्याएको छ ।
तथ्यले बताउँछ, समुन्नत राष्ट्रहरूले समेत जनसंख्याको अनुपातमा उच्च संख्यामा स्याम्पल परिक्षण गर्न सकेको छैन । तर, जति बढी स्याम्पल परिक्षण गरियो त्यती नै बढी संक्रमण देखिने प्रवृति झल्किन्छ । यो बढी हेक्का राख्नु पर्ने विषय हो ।
फरवरीको अन्त्यतिर जब चीनमा यस भाइरसबाट मर्नेको संख्या ३ हजार पुग्दै थियो सरकारका केही मन्त्रीहरूले नेपाललाई कोरोनाभाइरस मुक्त भने । खुला सिमाना र हवाईमार्ग निर्वाध रहेको समय परिस्थितिको अज्ञानतावश यसो भनेको हुनुपर्दछ । म यसको आलोचना गर्दिन । अहिले सरकार चेतेको छ । यसको संक्रमण रोक्नका लागि कटिबद्ध देखिएको छ। यसमा शंका गर्नुहुन्न । तर, के सरकार यसको संक्रमणको वास्तविक अवस्थाका बारेमा वाकिफ छन् त ? थोरै जनसंख्याको स्याम्ल परिक्षणबाट कुनैपनि राष्ट्र यथार्थ संक्रमणको संख्याका बारे जानकार हुन सक्दैन ।
सरकारका बारेमा प्रश्नहरू उठ्नु ठिकै हो । प्रश्नलाई विरोधको रूपमा हेरिनु हुन्न । सरकारले प्रश्नहरूको उत्तर दिनुमा जवाफदेहिता बुझ्न सक्नु पर्दछ।