बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले आइतबार कोरोना भाइरस सम्बन्धी पहिलो बीमालेख खरिद गरी औपचारीक सुरुवात गरेका छन् ।
अध्यक्ष चापागाईंले कोरोना भाइरस महामारीको रुपमा आएको र सानो रकमबाट भएपनि संक्रमणमा परेका व्यक्तिलाई आर्थिक सहयोग होस भन्ने उद्देश्यले बीमालेख जारी गरिएको बताए । कोरोना भाइरस संक्रमण पछिको उपचार सरकारले गर्ने भएपनि संक्रमित व्यक्तिको आर्थिक स्थितिलाई ध्यान दिएर बीमा लेख जारी गरिएको हो ।
कुनैपनि नेपाली नगारिक, परिवार एवं संस्थाले आफ्ना सदस्यहरुको व्यक्तिगत वा समुहिक बीमा गर्न सक्ने अध्यक्ष चापागाईंले बताए । उनले लकडाउनको अवस्थामा पनि अनलाइनमार्फत सजिलै पोलिसी खरिद गर्न सकिने बताए ।
इन्टरनेटको पहुँच नभएको ठाउँमा समेत निर्जीवन बीमा कम्पनीहरुले काम गर्दै आएका कृषि बीमा तथा घुम्ती बीमामार्फत बीमा विक्री गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।
अध्यक्ष चापागाईंका अनुसार बीमा पोलिसी खरिद गरेको १५ दिन पछि एक वर्षसम्म पीसीआर प्रविधिबाट कोरोना भाइरस संक्रमण भएको प्रभाणित भएमा बीमा दाबी गर्न सकिने छ । बीमालेखलाई दुई श्रेणीको बीमाङ्कमा कायम गरिएको छ । पहिलो बीमालेख १ लाख रुपैयाँको बीमाङ्कको छ भने उक्त पोलिसि खरिद गर्नका लागि प्रतिव्यक्ति १ हजार रुपैयाँ लाग्ने छ ।
यस्तै पारिवार वा संस्थागत रुपमा बीमा गरिन्छ भने प्रतिव्यक्ति ६ सय रुपैयाँ लाग्ने छ । यस्तै दोस्रो बीमालेख ५० हजार रुपैयाँको छ । उक्त बीमालेख खरिद गर्न प्रतिव्यक्ति ५ सय रुपैयाँ र परिवार वा संस्थाको सम्पूर्ण सदस्यको सामुहिक बीमा गर्न प्रतिव्यक्ति ३ सय रुपैयाँ लाग्ने छ । बीमा दाबीका लागि बीमा सुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि रहेको छ ।