नक्सेराष्ट्रवादभित्र लुकेको सुदूरको दर्द

आजभोलि

लोकराज अवस्थी

नेपालमा नक्सेराष्ट्रवाद जागेको छ । उत्सव मनाउन फरमान जारी भएको छ । देशवासीलाई हुकुम पनि छ । सुदूरपश्चिममा अझ बढी छ । किनकी नेपालमा नक्समा रहेको लिम्पियाधुार, लिपुलेक र कालापानी सुदूरमा पर्छन । नेपाल भए पनि नभए पनि हर्षोल्लास गर्नैपर्छ । भारतमा चौकीदारी गरिरहेको भए पनि दिपावली मनाउनु । बोर्डर भोकै भए पनि जुरुक्क उठेर तन्किनु । भारत भरी जहाँ भए पनि खाना नखाएर भोकै पेट भए पनि खुशीयाली बनाउनु, किनकी नयाँ नक्सा जारी भएको छ ।

तपाइ उर्दी वा फरमान मान्नु हुन्न भने कोबाट परिचालित हो, थाहा हुन्छ । नक्सा ल्याएपछि पनि राष्ट्रवाद ढोल नफिट्नेहरु राष्ट्रघाती, दलाल र रअ को ऐजेण्ड हुन् । तिमीले भनेर हुन्छ, को राष्ट्रवादी हो, सबै हामीलाई थाहा छ । राष्ट्रवादको सर्टिफिकट नलिकनै कसरी असली राष्ट्रवादी ? आदेश नमान्ने अनि राष्ट्रवादी दाबा गर्ने ? आदि।।इत्यादीले नक्सेराष्ट्रवादको बजार तताएको छ ।

आफ्नो भूभागको नक्सा प्रकाशन गर्नु स्वागतयोग्य कार्य हो । जनुपछिल्लो नक्सा प्रकाशित भएको छ, त्यो उचित, सही र जायज हो । पहिलेका सरकारले गर्नुपथ्र्यो, गरेनन् । अहिले गरियो ठीक गरियो । तर नक्सा ल्याउनु एउटा पाटो हो । सँगै नक्सापछिका दायारा, पहलकदमी तथा प्रभाव अझै महत्वपूर्ण हुन् । नक्साले झन समस्या निम्त्याउने की दिगो समाधान गर्ने ? नक्सा निकालेकोमा हरपल रम्ने की गुमेको भूमि कुटनीति मार्फत फिर्ता ल्याउन पहल गर्ने ? मिडियाबाजी गर्ने की प्रमाण बलियो बनाएर वार्ताको टेबुलमा दाबी गर्ने ? राष्ट्र भन्या भूगोल र सिमा मात्र हो की नागरिक पनि हुन ? नक्साको मात्र रक्षा गर्ने की नागरिकको पनि रक्षा गर्ने ? आदि, प्रश्नहरु अहम् रुपमा उठेका छन् । यसको उत्तर कहिले कसलाई कसले दिन्छ ?

अब कुरा गरौ, बकबासीकरणको । खासगरी भारतीय मिडियाले जुन हर्कत देखाएका छन् । दादागिरी देखाएका छन् । त्यो कसैका लागि पनि पाच्य र सह्य विषय हैन् । भारतीय गोदी मिडियाको एक दशकदेखिको क्रियाकलापले विश्व नै लज्जित भएको छ । उनीहरुको पत्रकारितामाथि गम्भिर प्रश्न उठीरहेको छ । भारतभित्रै पनि ठूलो आलोचना भइरहेको छ । र, बहिस्कारको अभियान चलेको छ । भारतीय राष्ट्रिय कांग्रेसले भारतीय टिभी शोमा आफ्ना पदाधिकारी नपठाउने निर्णय गरेको लगभग एक वर्ष भयो । अरु साना दलहरुले पनि टिभी शो बहिस्कार गरेका छन् । जुन आफैमा लोकतान्त्रिक मुलुकका लागि लज्जाको विषय हो । स्वतन्त्र पत्रकारितामाथिको कालोदाग हो ।

नेपालमा पनि अर्को बकबास शुरु भएको छ । मूलधारका मिडियामा जिम्मेवारीपन नै देखिएको छ । युट्युब तथा केही अनलाइन मिडियामा पनि त्यस्तै बकवास चलिरहेको छ । टक शोको नाममा गाली शो चलाइरहेका छन् । न तर्क छ, न त विचार छ । केबल छ, घटिया कुतर्क र फुस्रो गफ । हामी भारतीय मिडियालाई गाली गर्ने, अनि आफू पनि त्यही स्तरमा प्रस्तुत भयौ भने हामी र उनीमा के फरक रहन्छ । हामी को कति पानीमा छौ, आफूलाई नहेरी गर्ने कुतर्कले कसलाई घाटा गर्छ ? कसको हैसियत देखिन्छ ?

अब फेसबुके र ट्वीटेको कुरा गरौं । सबैले राष्ट्रवादको प्रमाण बाँडिरहेका छन् । फेसबुके र ट्वीटेराष्ट्रवाद हेरी…थामी नसक्नुकोछ । मानौ, नेपाल र भारतबीच फेसबुक र ट्वीटर वार हुँदैछ । हामीले जिती सक्यौं । हामी फेसबुके र ट्वीटे विश्व लडाकू नै सावित भइसक्यौ । र, सँगै अराष्ट्रवादी पनि घोषणा समेत गरिहेका छन् । मानौ, राष्ट्रवादको लाइसेन्स दिने यिनीहरु आइएसओ सर्टिफाइड हुन । यिनीहरुमा गजबको उत्तालउलो राष्ट्रवाद जागेको छ ।

नेपालमा अचेल, आधुनिक पृथ्वीनारायण शाहहरु सांसद भवनबाट बचनको तरबार चलाइरहेका छन् । पृथ्वीनारण शाहलाई सामान्तिको प्रतिक मान्नेहरु आफूलाई अझै माथिल्लो दर्जाको एकिकरणकर्ता मानिरहेका छन् । सायद, भित्तामा रहेको पृथ्वीनारण शाहले आँखा छोपिरहेका होला । अनि फेसबुके र ट्वीटे कायरहरु आफ्नो प्रोफाइललाई नालापानी मानेर कब्जा गरिरहेका छन् । मानौ, उनीहरु अमरसिंह र भक्तिथापा जस्तै बहादुर हुन । नैपाल (नेपाल) मा नक्सेराष्ट्रवादले यस्तै खोक्रो उभार ल्याएको छ ।


प्रशंग सुदूरपश्चिमको । हुना त, नेपाल एकिकरण तथा नेपाल ब्रिटिसबीचको युद्धमा सुदूरपश्चिमेको इतिहास भिन्नै छ । अहिले त्यो प्रशंग नभई, नेपाल सरकारले जारी गरेको नयाँ नक्साको प्रभावको बारेमा बहस गर्न खोजेको हो । सिंहदरबारले जारी गरेको नक्साको बारेमा सुदूरपश्चिम सदै झै बेखबर छ । वा त्यति सरोकार छैन् । हुना त सिंहदरबारमा के भयो, कुन सरकार आयो र कसको सरकार छ भन्ने कुराले अर्थ राख्दैन् । न हिजो थियो । न त आज । र त्यो सरोकारको विषय पनि हैन् ।

एक छिन दार्चुलाको ब्यासको कुरा गरौं । अहिले विवाद रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी यहीँ पर्छन । यी भूभाग त हाम्रै हुन । तर त्यहाका नागरिक हाम्रा हुन की हैनन् ? समेटेर नक्सा कोर्ने सरकारले यहाँका बासिन्दाको भाग्यरेखा कोर्ने की नकोर्ने ? अहिले पनि ब्यासको मलघट्टे लगायतका करिब पाँच स्थानमा तुइन मार्फत भारतीय बजार वा दर्चुला सदरमुका खलंगा आवत जावत हुन्छ । र, बिहान बेलुका र दैनिक उपभोग्यबस्तुका लागि तुइनको सहाराले भारतीय बजार जान्छन् । र, वर्षमा कोही न कोहीले महाकालीमा ज्यान गुमाइरहेका हुन्छन् ।

जब काठमाडौंमा खाक्रो राष्टवाद भूत चढ्छ, त्यति बेला भारतले तुइन काटेर नदीमा आगमन बन्द हुन्छ । र, जीवनकष्ट बन्छ । फेरी भारतकै शरण परेर तुइन जोड्नुको अर्को बिकल्प छैन् । नेपाली पूर्ण निर्भरता भारतमाथि छ । कारोबार पनि भारतीय रुपयामा नै हुन्छ । अझ मुटु नै दुख्ने कुरा, नेपालको भूमि कब्जा गरेको कालापानीमा रहेका भारतीय सेनाको भारी बोक्ने नेपाली हुन्छन् । भारतीय सेनाका भरिया राष्ट्रवादी नेपाली हुन्छन । जुन कुरा सुन्दा मुटु चसक्क दुखेर आउँछ । भन्न मन लाग्छ, काठमाण्डे राष्ट्रवाद मूर्दावाद !!!

कस्तो अनौठौ कुरा, ब्यासीका बासिन्दाले भोकै बसेर काठमाडौंका बहादुरको लागि सिमा जोगाइ दिनु पर्ने !!! अनि नक्साको लागि जिन्दगीको मूल्य चुकाउनु पर्ने ? आफ्नो जीवन रोज्नी की नक्सा ? कस्तो सकस होला ? जिन्दगी नै हरपल जोखिममा ।


नैपाल नक्सेराष्ट्रवादको विजयउत्सव मनाइरहन्दा लिम्पियाधुार, लिपुलेक र कालापानी पीडाले छटफटाइरहेका छन् । भारत कब्जा गरेर रमिता हेर्दैछ । नेपाल नक्सा बनाएर किनाराको साक्षी भन्दा पर रमाइरहेको छ । वास्तविकता यही हो ।

अब कुरा पलियाको । पलिया भारतीय सिमा नजिकको शहर हो । अहिले भारतबाट नेपाल फर्कनेहरुको प्रत्येक दिन ठूलो भिड लाग्छ । कोही रुखको फेदीमा रात बिताइरहेका छन त कुनै खुला चौरमा सपना देखिरहेका छन् । हेर्दा लाग्छ, दुबै देशले अस्वीकार गरेका शरणार्थीहरु जमात जस्तो ।

नेपालले नक्सा सार्वजनिक नगर्दासम्म भारतीय स्थानीय प्रशासनले खानबस्न व्यवस्था गर्दथे । तर अहिले आँखा तरेर हेरिरहेका छन् । खानाबस्न परे जाओस उल्टा थर्काइरहेका छन् । आफूसँग भएको बिस्कोट खाएर रात कटाइरहेका छन् । नेपाली भूमि हेरेर आफूलाई र पुस्तालाई धिक्कारी रहेका छन् । नेपाल हेरेर भारतमा आशु झारिरहेका छन् ।

नेपाल सरकार रमिते बनिरहेको छ । भन्दैछ, तिमीहरु नेपाल आउन पाउदैनौ । बारम्बार सिंहदरबारबाट उर्दी जारी भइरहेको छ । तिमीहरु दोस्रो दर्जाको नागरिक हौ । तिम्रो हकै लाग्दैन । तिमी जे गर्छौ, त्यही गर्नु, यता नआउनु भने झै व्यवहार देखाएको छ । जसको आलोचना गर्नका लागि शब्द चयन गर्नै मुस्किल भयो ।

एकहप्तादेखि भारतका पलियामा सुदूरपश्चिमका नेपालीहरु खुल्ला आकाशमा एउटा विस्कुट खाएर नेपाली भएकोमा गर्व गरिरहेका छन् । भारतका धर्मशालामा लाइनमा बसेर दुई छाकका लागि याचना गरिरहेका छन् । र, नक्सेराष्ट्रवाद जागीरहेको समयमा लाखौं नेपालीहरु रोजगारी गुम्ने चिन्तासँगै त्रसित छन् ।

भारतीय मिडियाले नेपालप्रति फैलाएको भ्रमले भारतमा रहेका नेपाली समस्यामा पर्न थालेका छन् । भारतीय सरकारी संयन्त्र पनि नेपालीप्रति उदासिन देखिन थालेको भारतमा रहेको साथीहरुले बताइरहेका छन् । उनीहरुको आत्मसम्मानमा ठेस लागिरहेको छ । सांसद भवनको ऐलानले उनीहरुको जीवनमा नयाँ समस्या सिर्जना गरेको छ । रोजगारी गुम्ने खतरा छ । भारतमा मुस्लिम समुदायप्रति फैलाएको घृणा जस्तै नेपालीप्रति भयो भने के हुन्छ ? जुन सम्भावना बढ्दै गइरहेको छ । पलिया लगायतका स्थानहरुमा त्यसको लक्षण देखिन थालेको छ । जनु निकै डरलाग्दो अवस्था देखिदैछ ।

सुदूरलाई बुझ्ने कोसिस कुनै पनि शासकले गरेनन् । कुनै पनि व्यवस्थाले त्यहाँका नागरिकको जीवनमा परिवर्तन भएन । कालापहाड, नैनीताल, कुमाउँ लगायतका भारतीय शहर नै गन्तव्य बने । नेपालमा जन्मेर भारतमा जीवन बिताए । सयौंले ज्यान पनि उतै गुमाए । नेपाली नागरिकता ट्यांकामा थन्काएर भारतीय रासन कार्ड खल्तीमा बोक्नुको बिकल्प नै भएन । नेपाली नसिक्दै हिन्दी बोल्नु पर्ने बाध्यता भयो । नेपाली रुपयाँ नचिन्दै भारतीय रुपयाँमा कारोबार नगरी चुलो नै बल्दैन् । सिंहदरबारको बारेमा नपढ्दै दिल्ली दरबार भोग्नु अर्को विवसता आउँछ । अनि भन्नुस, सुदूरपश्चिम कहाँ छ ? भूगोल चाहिने, जनता नचहिने कस्तो राष्ट्रवाद ?

  • ९ जेष्ठ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !