काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टी अलग बनाएर जान प्रस्ताव गरेको नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।
खुमलटारमा सचिवालय सदस्यको भेलामा प्रचण्डले शनिबारको भेटमा प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव राखेको बताएका हुन्।
दुई अध्यक्षबीच शनिबार १२ दिनपछि भेटवार्ता भएको थियो।
आज भएको खुमलटारमा भेलामा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल‘ सहभागि थिए ।
प्रधानमन्त्रीले पार्टी फुटाउन चाहेको ब्रिफिङ खुमलटार भेलामा प्रचण्डले गरेका हुन् ।
‘हिजोदेखि प्रधानमन्त्रीले अलगअलग जाऊँ भन्न थाल्नुभएछ। उहाँले नै अब पार्टी अलगअलग जाऊँ भन्नुभयो। प्रधानमन्त्रीले पार्टी र स्थायी कमिटी बैठकको निर्णय म मान्दिनँ भन्नुभयो। अब के गर्ने भनेर प्रचण्डले ब्रिफ गर्नुभयो,’ खुमलटार भेलामा सहभागी एक नेताले भने, ‘हामीले पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न गर्नुपर्छ। बैठक बस्नुपर्छ। स्थायी कमिटीको निर्णय मानेर गए भइहाल्छ, महाधिवेशनको तयारीमा जाने हो भन्यौ।‘
पछिल्लो पटक कर्णाली प्रकरण, रअ प्रमुखसँगको भेटघाट, मन्त्रिपरिषद् पुनर्गठन, पर्सा घटनालगायतका विषय नेकपामा मतभेद गरिएको छ ।
पार्टी एकता संकटमा
पार्टी महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेलले नेकपामा गम्भीर संकट उत्पन्न भएको बताएका छन्।
सामाजिक सञ्जाल ट्विटरमा आफ्ना धारणा राख्दै महासचिव पौडेलले नेकपाको एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको बताएका छन्।