नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हक को रूपमा परिभाषित गरेको छ । यसका आधारमा सम्पुर्ण नेपाली नागरिकले समान रूपमा स्वास्थ्य सेवाको उपभोग गर्न पाउनु पर्छ । यो हकको उपभोगको लागि सम्पुर्ण नागरिकको सहज पहुँचमा सरकारी स्वास्थ्य सेवा प्रदायकहरू हुन आवश्यक छ । तर वर्तमान बस्तु स्थितीको अध्ययन गर्ने हो भने बिभिन्न कारणले नेपाली नागरिकले यो मौलिक हकको उपभोग गर्न पाएका छैनन् । त्यस्तै जो जसले यो हक अन्तर्गतका सुविधाको उपभोग गरिरहेका छन् उनीहरूले पनि विभिन्न व्यवहारिक कठिनाइहरू भोग्नु परिरहेको छ । यो परिदृष्यमा हाम्रो स्वास्थ्य सेवालाई नागरिकको सहज पहुँचमा पुर्याउन यसलाई समय सापेक्ष रूपमा परिमार्जित र सुधार गर्नु आवश्यक छ ।
वर्तमान अवस्थाको विचार गर्ने हो भने नागरिकको लागि सरकारले विभिन्न स्वास्थ्य सेवाहरूको व्यवस्था त गरेको छ तर कतिपय अवस्थामा त्यस्ता सेवाहरूको उपभोग गर्नु सम्भव छैन । पहिलो कुरा त हाम्रा स्वास्थ्य संस्थाहरू सबै नागरिकको समान पहुँच हुने स्थानमा निर्माण गरिएका छैनन्, नागरिकलाई समय लगाएर टाढाको सरकारी स्वास्थ्य संस्थामा जानु भन्दा नजिकैको निजी स्वास्थ्य संस्थामा जानु सजिलो हुन्छ । सरकारी स्वास्थ्य संस्थामा पुगेका बिरामीले पनि आफुले चाहेको सेवा पाउनको लागि निकै सकश पाउनु पर्ने अवस्था छ । त्यहांको अव्यवस्थित भिडभाड, जताततै थुप्रिएको फोहर, पिउने पानी र शौचालयजस्ता आधारभुत सुविधाको अव्यवस्था वा कठिनाइ र स्वास्थ्यकर्मीहरुको हतारोले पनि अस्पताल परिसरमा विरामीहरुको अप्ठ्यारो घटाउन मद्दत गर्दैनन् । कतिपय वस्थामा निशुल्क पाइने सेवाहरू को लागि अन्य सरकारी निकायमा सिफारिसको लागि धाउनु पर्ने अव्यवहारिक वाध्यता पनि रहन्छ वा रहिआएको छ । त्यस्तै निशुल्क सेवाहरू लिन जांदा आउंदा पाएको सेवाको मुल्य भन्दा बढि पैसा त्याहां जाने आउने व्यवस्था गर्दा खर्च हुन्छ । अधिकांश सर्वसाधारणको पहुंच रहेका सरकारी स्वास्थ्य संस्थामा सामान्य उपचारहरू उपलब्ध भए पनि कुनै न कुनै सेवाको लागि निजी स्वास्थ्य संस्थामा गएर महंगो मुल्य तिर्न विरामीहरू वाध्य हुन्छन् । निशुल्क भनिएका जटिल र महंगा स्वास्थ्य सुविधाहरूमा पनि विरामी आफैले खर्च गर्नुपर्ने भनि राखिएका शीर्षकको मुल्य नै सर्वसाधारणको क्रयशक्ति भन्दा बाहिर छ । यस्तो अवस्थामा विरामीहरूले आफ्ना घरजग्गा जस्ता अचल सम्पत्ती बेचेर वा ऋण लिएर उपचार गराउनु पर्ने वाध्यता अहिले पनि विध्यमान छ ।
केहि वर्षयता नेपाल सरकारले नागरिकको स्वास्थ्यमा आर्थिक भार कम गर्ने सोचले बीमा कार्यक्रम चलाएको छ । यो कार्यक्रमले केहि मात्रामा नागरिकको समस्यालाई सम्बोधन गर्ने प्रयास गरेपनि यसको प्रचार, व्यापकता र केहि व्यवहारिक कठिनाइहरूमा काम गर्नुपर्ने देखिन्छ । पहिलो कुरा त यो कार्यक्रम देशैभरि लागु भएको छैन, अनि जहां जहां लागु भएको छ त्यहांका सम्पुर्ण नागरिकमा यो कार्यक्रमको सूचना पुगेको छैन । नेपाली समाजको लागि सामाजिक स्वास्थ्य वीमा कार्यक्रम एक नयां प्रयास भएकाले ब्यापक रूपमा यस सम्बन्धि जानकारी नागरिक माझ पुर्याएर यसको आवश्यकता र फाइदाका बारे नागरिकलाई सुचित गर्दै उनीहरूलाई यसमा सम्मिलित हुन प्रोत्साहित गर्नु आवश्यक छ । अहिलेको अवस्थामा यो कार्यक्रम अन्तर्गतको सुविधा दिने स्वास्थ्य संस्था संख्यात्मक रूपमा थोरै छन् जसका कारणले सेवाग्राहिलाई टाढाको संस्थामा गएर सेवा लिनुपर्ने अव्यवहारिक समस्या परिरहेको छ । यसकालागि सकेसम्म धेरै स्वास्थ्य संस्थाहरूलाई यो सेवाको लागि सुचिकृत गरेर सेवालाई सबै नागरिकको पहुँचमा पुर्याउनु आवश्यक छ । त्यस्तै यो सेवाको दिगोपनाको लागि सेवाग्राहीमा यो एक सामुहिक खर्च व्यवस्था हो र यो सुविधा फाइदाको लागि नभइ अप्ठ्यारोमा नपर्नको लागि लिइने सुविधा हो भन्ने जानकारी पुर्याउन आवश्यक छ । यसो भएमा मात्र नागरिकको मनमा बसेको आफ्नो बिमा नउठ्ने डरलाई हटाएर एकले अर्कोको असजिलोमा सहभागी भएको भन्ने सहयोगी भावनाको विकास गर्दै सामाजिक स्वास्थ्य बिमा कार्यक्रममा धेरै नागरिकको सहभागिता बढाएर यस कार्यक्रमलाई आत्मनिर्भर बनाउन सकिन्छ ।
त्यस्तै नागरिकहरूमा व्यक्तिगत स्वास्थ्य एक प्रकारको पुँजी हो । र यसको सुरक्षा गर्न जरूरी छ भन्ने सोचको विकास गराउनु आवश्यक छ । यसो गर्न सकेमात्र आफ्नो पहुँचमा रहेको स्वास्थ्य सेवाको उपभोग गर्ने र यसका लागि आफुले पनि केहि योगदान गर्ने वा दुःख उठाउने बानीको विकास गर्न सकिन्छ । यसो हुन सकेमा मात्र सरकारले नागरिकको लागि बनाएका स्वास्थ्य सेवाहरूको सदुपयोग भएर नागरिकको जीवनमा प्रवाभ परेको देखिनेछ ।
विचार गर्दा साना लाग्ने यस्ता केहि कठिनाइहरूको यथोचित सम्बोधन हुन आवश्यक छ । अनिमात्र नेपालको स्वास्थ्य सेवालाई सहि बाटोमा ल्याउँदै सम्पुर्ण नागरिकको पहुँचमा पुर्याउँन सकिनेछ । यी काम गरियो भने पक्कै पनि सम्पुर्ण नेपालीले स्वास्थ्यसम्बन्धि मौलिक हकको उपभोग गर्न पाउनेछन् ।