काठमाडौं । नेपाली काँग्रेसले १४औँ महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको हो । बैठकपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनका बारेमा शंका नगर्न नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।
हिजो शुक्रबार केन्द्रीय समिति बैठकमा सभापति देउवाले महाधिवेशन तोकिएकै समयमा हुने दावी गरेका थिए । भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका केन्द्रीय समितिबाट अनुमोदन भएपछि कांग्रेस सभापति देउवाले भने ‘महाधिवेशन कुनै पनि हालतमा हुन्छ । १९ को २० हुँदैन, बरु १८ नै हुन्छ । महाधिवेशन कुनै पनि हालतमा सर्दैन ।
काँग्रेसले साउन १२ गते गाउँ तथा नगरको वडाको अधिवेशन, साउन १६ गते गाउँपालिका, नगरपालिकाको अधिवेशन, साउन २० गते क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २३ गते तथा एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २६ गते गर्ने निर्णय गरेको छ । त्यस्तै, प्रदेश अधिवेशन भदौ १ र २ गरिने निर्णय गरिएको पनि पार्टीले जानकारी दिएको छ ।