काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनलाई लक्षित गरेर पार्टीका तीन नेताबीच आज छलफल भएको छ । पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला निवास मण्डिखाटारमा भएको भेटमा पार्टीका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी थिए ।
सहमति, सहकार्य र एकताका साथ आसन्न महाधिवेशन अगाडि बढाउने विषयमा केन्द्रित रहेर छलफल भएको हो । विभिन्न गुट–उपगुटका कारण पार्टी कमजोर भयो, आगामी महाधिवेशनमा पार्टीलाई कसरी बलियो र एकताबद्ध बनाउन सकिन्छ भन्ने बारेमा छलफल भएको केन्द्रीय सदस्य कोइरालाले बताएकी हुन् ।
यस्तै, मुलुकको वर्तमान राजनीतिक घटनाक्रमका बारेमा समेत तीन नेताबीच छलफल भएको हो । पार्टीको महाधिवेशन आउन दुई महिना बाँकी रहँदा अहिले कांग्रेसका नेताहरुबीच नेतृत्वका हत्याउनका लागि छलफल, बहस र भेटघाट बाक्लिएको छ ।
केही दिन अगाडिमात्र पार्टीका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. सशाङ्क कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच निधि र कोइराला निवासमा पालैपालो भेटघाट भइसकेको छ । त्यसैगरी सभापति शेरबहादुर देउवाले पनि आगामी महाधिवेशनमा आफू अन्तिम पटक सभापति लड्ने भन्दै आफूनिकट केन्द्रीय सदस्यहरुसँग छलफल अगाडि बढाएका छन् । कांग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म हुँदैछ । रासस