एजेन्सी । युरो कप अन्तर्गत गएराति भएको खेलमा स्पेन र स्विट्जरल्याण्ड अन्तिम आठमा पुगेका छन् । तीन पटकको च्याम्पियन स्पेन १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कोपनहेगनमा सोमबार राति भएको प्रि–क्वाटरफाइनलमा क्रोएसियालाई अतिरिक्त समयमा ५–३ गोल अन्तरले पराजित गर्दै स्पेनले अन्तिम आठमा स्थान बनाएको हो ।
रोमान्चक खेलमा स्पेनलाई जित दिलाउन पाब्लो सराबिया, सिजर अज्पिलिकुइटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओयार्जाबलले एक एक गोल गरे ।निर्धारित समयमा तीन तीनको गोल सहित बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । त्यसैगरी साविक उपविजेता फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
रोमानियामा सोमबार राति भएको प्रि–क्वाटरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम आठमा प्रवेश गरेको हो । रोमान्चक खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा स्विट्जरल्यान्डले बाजी मा-र्यो ।
पेनाल्टीमा फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम र प्रेसनल किम्पेम्बेले गोल गरे । तर, केलियन एमबाप्पे पेनाल्टीमा गोल गर्न चुके । एमबाप्पेको प्रहार स्विट्जरल्यान्डका गोलकिपर यान सोमेरले बचाए । स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिच, फाबियन, अकान्जी म्यानुएल, रुबेन भेर्गास र एडमिर मेहमेदीले पेनाल्टीमा गोल गरे ।