एजेन्सी । जर्मनीलाई पराजित गरेर इंल्याण्ड १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । हिजो राति भएको प्रि–क्वाटरफाइनलमा तीन पटक च्याम्पियन हातपारिसकेको जर्मनीलाई २–० गोल अन्तरले पराजित गर्दै इंल्याण्ड अन्तिम आठमा पुगेको हो ।
लण्डनस्थित वेम्बली स्टेडियममा इंल्याण्डलाई जिताउन रहिम स्ट्रर्लिङ र ह्यारी केनले एक एक गोल गरेका । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलको ७५ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै इंल्याण्डलाई सुरुमै अग्रता दिलाएका थिए । जारी युरोकपमा स्ट्रर्लिङको यो चौंथो खेलमा तेस्रो गोल हो । समूह चरणमा उनले दुई गोल गरेका थिए ।
त्यसपछि खेलको ८६ औं मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई २–० को जित दिलाए । उनले ज्याक ग्रेलिसको पासमा हेडरमार्फत गोल गरेका हुन् । जारी युरोमा उनको यो पहिलो गोल हो । यसैगरि स्विडेनलाई पराजित गर्दै युक्रेन १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको राउण्ड अफ १६ को अन्तिम खेलमा स्विडेनलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै युक्रेनले अन्तिम आठमा स्थान बनाएको हो । स्कटल्याण्डको ह्याम्पडेन पार्कमा युक्रेनलाई जित दिलाउन ओलेक्सान्डर जिन्चेन्को र अर्टिम दोभ्बिकले एक एक गोल गरे ।
रोमान्चक बनेको खेलको निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १ सय २० औं मिनेटमा अर्टिमले गोल गर्दै युक्रेनलाई २–१ को महत्वपूर्ण जित दिलाए । उनले जिन्चेन्कोको पासमा गोल गरे ।