काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । अर्जेन्टिनाले कोलम्बियालाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । खेलमा अर्जेन्टिनाले लिएको अग्रता जोगाउन नसक्दा खेल टाइब्रेकरसम्म पुगेको हो । निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी भएको थियो ।
लौटारो मार्टिनेजको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो । लियोनल मेस्सीले डिबक्सभित्र उपलब्ध गराएको पासमा मार्टिनेजले सातौं मिनेटमै गोल गरेका थिए । ६१ औं मिनेटमा लुइस डियाजको गोलमार्फत कोलम्बियाले बराबरी गोल गर्यो । त्यसपछि गोल भएन र खेल टाइब्रेकरमा पुग्यो । जसमा अर्जेन्टिनाले ३–२ ले बाजी मार्यो ।
टाइब्रेकरमा कप्तान मेस्सी, लौटारो र लियान्द्रो डानियल पेरेडेसले गोल गरेका थिए । रोड्रिगो डी पाउल गोल गर्न चुके । कोलम्बियाका हुँवा काउड्राडो र मिगुएल बोरजाले मात्र गोल गर्न सके । सन् २०१६ पछि पहिलो पटक अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पुगेको हो ।
अब अर्जेन्टिनाले उपाधिका लागि ब्रजिलसँग प्रतिस्पर्धा गर्दै छ । ब्रजिलले सेमिफाइनलमा चिलीलाई १–० गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । फाइनल खेल जुलाई ११ तारिख बिहान ५ः४५ बजे शुरु हुनेछ ।