काठमाडौं । कल्याणकुमार गुरुङ नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् । उनी कांग्रेसमा दुई कार्यकाल केन्द्रीय सदस्य भइसकेका छन् । गुरुङ नेपाल विद्यार्थी संघको राजनीतिबाट खारिएर पार्टी राजनीतिमा उदाएका हुन् ।
विद्यार्थी राजनीतिमा उनी नेविसंघको सहअध्यक्षसमेत र अध्यक्ष भइसकेका छन् । पाटीमा दुई दुईपटक केन्द्रीय सदस्य भइसकेकाले उनलाई नेतृत्वमा जान प्रेरित गरेको छ । आगामी १४ औं महाधिवेशनमा गुरुङले केन्द्रीय सभापति पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
उनले पार्टीका शीर्ष नेताहरूसँगै आफ्नो आपूm सभापति उम्मेदवार बन्ने प्रस्ताव राखिसकेका छन् । गुरुङले विगतमा बीपी कोइराला, सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराईलगायतका नेताहरू युवा अवस्थामै पार्टीको नेतृत्वमा पुगेकाले यसपटक आफूले उनीहरूकै पदचाप पछ्याउन लागेको बताउँदै आएका छन् ।
पार्टी सभापतिको उम्मेदवारीका लागि उनले तीव्र गतिमा तयारी थालिसकेको बताएका छन् । ‘नेपाली कांग्रेस शिथिल जस्तो पाएँ नेताहरुमा कुनै जागरुकता देखिएन । सबै थकित मनस्थितिमा छन्, सानो घेराबन्दीमा रमाउन रुचाउँछन््,’ उनी भन्छन् ।
यस्तो तरिकाले नेपाली कांग्रेस झन् झन् कमजोर हुँदैजाने चिन्ताले पिरोलिएका गुरुङ पार्टीमा परिवर्तन ल्याउन चाहन्छन् । आफ्नो जस्तै उमेरमा वर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्री र सभामुख भइसकेकाले आफूले सभापति पदको निर्वाचनमा प्रतिष्पर्धा गर्नु कुनै अनौठो नहुने उनको भनाइ छ ।
‘अहिले पनि नेतृत्वमा जान प्रयाश नगरेर पालो कुरेर बसेँ भने मेरो पालो ३८० वर्षपछि मात्र आउँछ,’ नेता गुरुङले भनेका छन् ।